अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका–६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित त्रियुगा नगरपालिका–६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट संयुक्तरुपमा खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ जाँदै गरेको स.९.प ८२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका ८ सिक्टीस्थितबाट मिक्लाजुङ गाउँपालिका ९ बस्ने ४१ वर्षीय गोविन्दप्रसाद भण्डारी र रतुवामाई नगरपालिका ५ घोपाबाध टोल बस्ने ३४ वर्षीय दिपक पौडेललाई नियन्त्रित लागूऔषध १ सय एमएलको कोरेक्स डिसी ५ बोतल र पौरुष जीवन ८४ क्याप्सुल भएको ८प्याकेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले को.५.प १५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ८ सय ५० मिली ग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभा खाँदबारी नगरपालिका ३ बस्ने ३४ वर्षीय विक्रम राई, झापा बिर्तामोड नगरपालिका २ बस्ने २२ वर्षीय तुम्बा भन्ने निर्मल चौधरी र झापा बिर्तामोड नगरपालिका ४ बस्ने २४ वर्षीय कल्याण क्षेत्री रहेका छन् । पक्राउमध्ये राईको साथबाट १ सय २५ मिली ग्राम, चौधरीको साथबाट ६ सय मिली ग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलि ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्