४ महिनामा गौतमबुद्ध विमानस्थलको सबै काम पूरा हुन्छः पर्यटनमन्त्री भट्टराई

रुपन्देहीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

आगामी डिसेम्बर महिनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने, ‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको ४ महिनामा ती सबै काम पूरा हुन्छ ।’ कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए । उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताए ।

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए । ‘निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ’ उनले भने । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए । नियुक्त भएपछि पहिलोपटक रुपन्देही आउनुभएका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए ।

कमेन्ट गर्नुहोस्