नेकपाको राजनीतिक प्रतिवेदनमाथि कांग्रेस प्रवक्ता शर्माको यस्तो टिप्पणी

काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको राजनीतिक प्रतिवेदनमाथि दया मात्र गर्न सकिने टिप्पणी गरेका छन् । नेकपाले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसबारे गरिएको विश्लेषण दृष्टिकोण नभएर दृष्टिदोष भएको वहाँको तर्क थियो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले भने ‘नेकपाको प्रतिवेदनमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ’, शर्माले भने, ‘दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र।’ 

स्थापनाकालदेखि नै नेपाली कांग्रेसले लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ थियो । ‘बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिस्ट पार्टीलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डोर्‍याउने प्रयत्न गरी आएको छ’, उनले भने, ‘यो मान्यताले प्रतिस्पर्धी शक्तिलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ।’

प्रवक्ता शर्माले गोंगबु बसपार्कको विषयलेसमेत गम्भीर ध्यानाकर्षण गराएको बताए।  ‘जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो। अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ’, उनले भने, ‘जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ।’

कांग्रेसले यो विषयमा अनुसन्धान अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अपिलसमेत गरेको छ।  कांग्रेस प्रवक्ता शर्माले ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिने भए पनि प्रतिबन्ध लगाउने विषयमा छलफल नहुने बताएका छन्। 

प्रवक्ता विश्वप्रकाश शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोमा पनि टिप्पणी गर्न अस्वीकार गरे ।

उक्त घटनाबारे नेपाल सरकारले नै धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा उनले निजामती सेवामा ट्रेड युनियन अधिकार प्रतिबन्धित गर्ने विधेयककाविरुद्ध कांग्रेस उभिने र संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत सम्झौता नगर्ने बताए ।

जापान सरकारको सहयोगमा बनेको गोंगबु बसपार्कमा ‘जाइका’सँगको सहमतिविपरीत नजान माग गर्दै उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वसमेत मुछिएकाले आवश्यक कारबाही गर्नुपर्ने शर्माले बताए ।

कमेन्ट गर्नुहोस्