बर्सेनि १४ हजार शिशु आमाको दूधबाट वञ्चित

काठमाडौं, साउन २४ । पछिल्लो समय बच्चा जन्माइसकेपछि आमाहरूले बिगौती दूध नखुवाउने गरेको पाइएको छ । जसका कारण बर्सेनि १४ हजार शिशुले आमाको दूधको अनुभव नै गर्न नपाउने स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको पोषण शाखाले जनाएको छ । सुन्दरता बिग्रने चिन्ताका कारण आमाहरूले नवजात शिशुलाई दूध खुवाउन अनिच्छा देखाउने गरेको पाइएको छ ।

जन्मनासाथ आमाको बिगौती दूध खान नपाउँदा हरेक वर्ष तीन लाख बच्चाहरूको पाचन प्रणालीमा खराबी हुने गरेको छ । आमाको पहिलो बिगौती दूध खुवाउनुपर्नेमा मुखमा अन्य खानेकुरा परेका कारण बच्चाको पाचन प्रणालीमा खराबी देखिएको पोषण शाखाले जनाएको छ । हरेक वर्ष सात लाख बच्चा जन्मने गर्छन्, तीमध्ये तीन लाख बच्चाले आमाको पहिलो बिगौती दूधको अनुभव नै गर्न पाएका छैनन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा जन्मियो अनौठो शिशु

पोषण शाखा प्रमुख केदार पराजुलीले बच्चा जन्मनासाथ आमाको दूध खुवाउनुपर्ने बताए । तर, पछिल्लो समय आमाको दूधको सट्टा पानी, लिटो वा बाहिरको दूध खुवाउने गरिन्छ । पराजुलीका अनुसार शिशुको मुखमा पहिलोपटक आमाको दूधको विकल्पमा अन्य चिज परेमा उसको पाचन प्रणालीमा गम्भीर समस्या देखिन्छ । यो संख्या नेपालमा बढ्दो क्रममा छ । जसले गर्दा अल्सर, क्यान्सरजस्ता जटिल रोग देखिने गरेको उनले बताए ।

पोषण शाखा, स्वास्थ्य सेवा विभागका प्रमुख केदार पराजुली भन्छन् ‘पछिल्लो समय आमाको दूधको सट्टा लिटो वा बाहिरको दूध खुवाउने प्रवृत्ति बढेको छ । शिशुको मुखमा पहिलोपटक आमाको दूधको विकल्पमा अन्य चिज परेमा उसको पाचन प्रणालीमा गम्भीर समस्या देखिन्छ । जसले गर्दा अल्सर, क्यान्सरजस्ता जटिल रोग देखिने गर्छ ।’

याे पनि पढ्नुस  फेरिँदै मानवबेचविखनको तरिकाः गर्भकै शिशुको मोलमोलाई !

सुन्दरता बिग्रने चिन्ता
पोषण शाखाका प्रमुख पराजुलीका अनुसार सुन्दरता र स्तनको आकार बिग्रने नाममा आमाहरूले स्तनपान गर्न इच्छा देखाउँदैनन् । त्यसको विकल्पमा उनीहरूले बजारमा पाइने पाउडर दूध खुवाउने गरेको देखिएको छ । बर्सेनि १४ हजार शिशुले आमाको दूधको अनुभव नै गर्न नपाउनु दुःखद भएको बताए । स्तनपान गराएर सुन्दरता बिग्रनेभन्दा नखुवाउँदा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । चिकित्सकहरूले बच्चा जन्मेको एक घन्टाभित्र आमाको बिगौती दूध खुवाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताउने गरेका छन् । जसले सात दिनदेखि दुई महिनाभित्र हुने शिशु मृत्युदर घटाउन ठूलो भूमिका निभाउने उनीहरूको भनाइ छ ।

पछिल्लो समय कार्यबोझ, सुन्दरता, बच्चाको दूध बजारमा सहजै उपलब्ध हुनेजस्ता कारणले सहरिया आमाहरूले बच्चा जन्माउने, तर स्तनपान नगराउने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बच्चा जन्मेको एक घन्टाभित्र दूध खुवाउनुको महत्व नबुझेकै कारण समस्या आएको पोषण शाखा प्रमुख पराजुलीले बताए । मुलुकमा एक घन्टाभित्र दूध खान नपाउने शिशुको संख्या तीन लाख र दुई वर्षसम्म निरन्तर दूध खाने बच्चाको संख्या एक लाख रहेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा जन्मियो अनौठो शिशु

पूर्ण स्तनपानका फाइदा
चिकित्सकहरूले निरन्तर स्तनपान गराउँदा अनुहारमा निखार आउने, स्तनको सुन्दरता नबिग्रने, ब्रेथ क्यान्सर, सुत्केरीपछि हुने रक्तश्राव कम हुने, शिशुको मृत्युदर घट्ने, पाठेघरको आकार सही स्थानमा रहने बताउँछन् । यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्