खोलाको धार परिवर्तन गर्दा सयौँ बिघा धानबाली नष्ट

काठमाडौं, साउन २४ । जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत डुमरवानाबाट बडर्बा जोड्ने बालगंगा खोलामा पुल बनाउँदा खोलाले किसानको धानखेत नष्ट भएको छ । पुल निर्माणका क्रममा खोलाले धार परिवर्तन गर्दा उपमहानगरपालिका–१५ को डुमरवाना र वडा नम्बर १८ मा पर्ने बडर्बामा सयौँ बिघामा लगाइएको धानखेती नष्ट भएको हो । ठेकेदारकै लापरबाहीले आफ्नो धानखेती नष्ट भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आश्रय निर्माण सेवाले ११ करोडको लागतमा पुल निर्माण गरिरहेको छ ।

पुल बनाउन खोलाको धार पश्चिमतर्फ फर्काइएको र वर्षायाममा धार परिवर्तन नगरिँदा सयौँ बिघामा लगाइएको बालीमा नोक्सानी पु(याएको जितपुरसिमरा उपमहानगरपालिका–१९ का वडाध्यक्ष सुधनदास तत्माले जानकारी दिए । ‘ठेकेदारको लापरबाहीले धेरै किसानका धानबाली नष्ट भएको छ, यसको क्षतिपूर्ति कसले दिन्छ ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘किसानको वर्षभरि खाने अन्न धान पूर्णरूपमा नष्ट भएको छ, खेत बालुवाले पुरेको छ, कतिपयको खेत खण्डहर बनेको छ ।’

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

तीन वर्षमा बन्नुपर्ने पुल चार वर्ष बित्दा आधा मात्र
आश्रय निर्माण सेवाले २०७२ असार मसान्तमा तीन वर्षमा सक्ने गरी पुल निर्माणको जिम्मा लिएको थियो । २०७५ असारमा ठेक्का सम्झौताअनुसार काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, एक वर्ष म्याद थप गर्दासमेत अझै स्लाब ढलान, एप्रोच रोड, खोलाको तटबन्ध र सुपर स्ट्रक्चरको काम बाँकी छ । सार्वजनिक खरिद नियमावली आठौँ संशोधनले एक वर्षभित्र काम सम्पन्न हुने अवस्था रहे पुनः एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था गरेको छ ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

सडक डिभिजन कार्यालय हेटौँडाका ई।जयराम अधिकारीले ठेकेदारलाई काम सम्पन्न गर्न अझै ६ महिना लाग्ने मूल्यांकन गरेको बताए । ‘ठेकेदारसँग सल्लाह गरी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे भने एक वर्षका लागि म्याद थप हुन्छ, अन्यथा कानुनी बाटो अपनाउन बाध्य हुनेछौँ,’ उनले भने । आश्रय निर्माण सेवाका प्रोपाइटर रामआश्रय साहका अनुसार समयमा बजेट नआउनु र पुलको डिजाइनसमेत नयाँ भएकाले पुल निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको हो ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

‘पुलको डिजाइन नयाँ भएकाले दक्ष कामदार नपाउने र बजेट पनि पर्याप्त उपलब्ध नहुँदा काम समयमा नसकिएको हो,’ उनले भने, ‘अब एक वर्ष म्याद थप भए सम्पूर्ण काम सकिनेछ ।’ निर्माण कम्पनीले पुल निर्माणका लागि भन्दै हालसम्म करिब पाँच करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्