गुठीको ५५५ बिघा जग्गा व्यक्तिका नाममा

सिन्धुली, साउन २४ । सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ। सिद्धेश्वर (कमलामाई) गुठीको ११ बिघा, भीमेश्वर राजगुठी ९अधीनस्थ० को चार सय १८ बिघा, भीमेश्वर सदाबर्त (जलकन्या) गुठीको ६८ बिघा र कुशेश्वर–दुम्जा गुठी (झाँगाझोली रातमाटा) को ५८ बिघा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरिएको हो।

जिल्ला मालपोत कार्यालयका अनुसार सिद्धेश्वर गुठीको ११ बिघा एक सय ५० व्यक्तिका नाममा दर्ता भएको छ। भीमेश्वर राजगुठीको चार सय १८ बिघा ४६ जनाको नाममा, भीमेश्वरकै सदाबर्त जलकन्या गुठीको ९ जनाका नाममा र कुशेश्वर महादेव गुठीको ५८ बिघा ७६ जनाका नाममा दर्ता भएको छ।

मालपोत अधिकृत तारा नेपालीका अनुसार २०३७ सालअघि सबै जग्गा धार्मिक संस्थाका नाममा खोलिएको गुठीकै नाममा दर्ता भए पनि मोही परिवर्तन हुँदा व्यक्तिका नाममा पास हुँदै आएको हो।

२०३७ सालमा सिद्धेश्वरस्थित कमलामाई गुठीको १६ जना मोही थिए। २०७५ सालसम्म आउँदा त्यो जग्गा रैतान गराई एक सय ५० जनाले आफ्नो नाममा बनाएका छन्।

गुठी संस्थान केन्द्रीय कार्यालयको च।नं। ४१२० को २०५६ माघ ४ गतेको आदेशले गुठीका जग्गा मोही महलबाट रैतानी गर्दा जग्गाधनीको महल कायम गरिएको नेपालीले बताए।

उनले भने, ‘२०५६ माघ ४ अघि जग्गाधनीका नाममा गुठीकै नाम र मोही महलमा गुठीका साबिक मोहीको नाम मात्र उल्लेख गरिन्थ्यो। पछि गुठी संस्थान केन्द्रीय कार्यालयको पत्रकै आधारमा रैतानी गराई व्यक्तिका नाममा किनबेच थालिएको हो।’ धार्मिक संस्थाका नाममा दर्ता भएका यस्ता गुठीका जग्गा करोडौं मूल्यमा किनबेच हुँदा धार्मिक संस्था जीर्ण बनेका छन्।

आव ०७५/७६ मा कमलामाई गुठीको जग्गा ११ व्यक्तिका नाममा किनबेच भएको छ।

चारैवटा गुठीमा गरी कति जग्गा थियो भन्ने यकिन नभए पनि हालको तथ्यांक हेर्दा पाँच सय ५५ बिघाभन्दा बढी जग्गा किनबेच भइसकेको छ।

‘गुठीका मोहीले मोही महलबाट रैतान गरीपाऊँ भनी निवेदन दिएपछि गुठी संस्थान केन्द्रीय कार्यालयको पत्रका आधारमा जग्गाधनीको नाम जग्गाधनी महलमा राख्न थालिएको हो,’ नेपालीले भने।

यसरी खरिदबिक्री गरिएका गुठीका जग्गामा पक्की भवन, कारखाना र विभिन्न व्यवसाय सञ्चालनमा छन् भने कतिपयले खेतीपाती गर्दै आएका छन्।

कमलामाई मन्दिरको व्यवस्थापनमा दर्ता गरिएको सिद्धेश्वर (कमलामाई) गुठीको जग्गा बिक्री भइसके पनि मन्दिर जीर्णोद्धारमा भने भेटी र चन्दाको भर पर्नुपरेको सरोकारवाला बताउँछन्।

गुठीका साविक मोहीले भोगचलन गरेबापतको आम्दानीले गुठी संस्थानका लागि आवश्यक खर्च व्यवस्थापन, धार्मिक तथा सामाजिक कार्यमा खर्च गर्ने व्यवस्था भए पनि त्यसो हुन सकेको छैन।

कुशेश्वर महादेवका नाममा दर्ता गरिएको गुठीको जग्गा व्यक्तिका नाममा दर्ता भइसके पनि २०७२ सालको भूकम्पले ढलेको उक्त मन्दिरको पुनर्निर्माण हुन नसकेको छैन।

गुठी संस्थानको केन्द्रीय कार्यालयको पत्रका आधारमा बर्सेनि गुठीका जग्गा कित्ताकाट गर्दै रैतानीका आधारमा व्यक्तिका नाममा दर्ता भएको विषयमा कानुनभन्दा बाहिर नगएको मालपोत कार्यालयले जनाउँदा गुठीको जग्गा व्यक्तिका नाममा कानुनसम्मत नै ल्याएको स्थानीय बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्