त्रिशूली बस दुर्घटनाः २८ जनाको टिकटमा ४२ यात्रु चढेको भेटियो

सर्लाहीः आज बिहान धादिङको त्रिशूली नदीमा खसेको ना ६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्समा सर्लाहीबाट ४२ जना चढेको र चालक दलका तीन सदस्यसहित जम्मा ४५ जना रहेको खुलेको छ ।

दुर्घटना भएको बस बिहीबार बेलुका सवा ६ बजे सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुट्दा त्यसमा रहेको यात्रुको संख्या ४२ देखिए पनि टिकट भने जम्मा २८ ओटामात्र काटेको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार एउटै टिकटमा ३ जनासम्मले यात्रा गरेकाले टिकटमा नाम थर खुलेका बाहेक बाँकी यात्रुको परिचय खुलाउन समस्या परेको छ ।

दुर्घटनामा ज्यान गुमाएका दुईजनाको परिचय खुलेको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको परिचय खुलेको र एक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १६ जनाको उद्धार गरी ९ जनालाई थप उपचारका लागि काठमाडौं पठाएको र सात जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्