त्रिशूली बस दुर्घटनाः ज्यान गुमाउने तीनै जना एकै परिवारका

धादिङ, साउन २४ । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्रीबस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं.३ सलाङघाटस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनामा मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, सहचालकहरू प्रमोद चौधरी र ऋषी उप्रेती सवार थिए । प्रहरीका अनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् ।

त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस विहान ३।३० वजेतिर पृथ्वी राजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा डुबिरहेको छ भने निकै अप्ठ्यारो ठाउँमा दुर्घटना भएको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको उद्धार गरी उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्