तीनवटा लौकाको विषादी परीक्षण शुल्क ८७ हजार !

काठमाडौंः तरकारीमा रहेको विषादी परीक्षण गर्न शुल्क कति लाग्ला ? जोकोही पनि अनुमान गर्ला, केही सय वा बढीमा हजार रुपैयाँसम्म । तर, यहाँ एक सरकारी निकायमै भएको तरकारीको विषादीमा परीक्षणको शुल्क ८७ हजार रुपैयाँ निर्धाण गरिएको छ । यति ठूलो रकमको बिल आएपछि परीक्षण गर्न पठाउने अर्को सरकारी निकायका पदाधिकारी पनि चकित भएका छन् ।

केही दिनअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट संकलन गरिएको लौकाको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो ।

खाद्य विभागले पनि वाणिज्यबाट आएको तीनवटा लौकाको विषादी परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला पठाएको थियो । परीक्षणपछि खाद्य विभागले ८७ हजारको शुल्कसहितको बिल वाणिज्य विभागलाई पठाएको हो । परीक्षण रिपोर्टमा प्रयोगशालामा ३ वटा लौकामा २९ किसिमका विषादी अवशेष रहे–नरहेको परीक्षण गरिएको उल्लेख छ । प्रतिपरीक्षण १ हजारका दरले ८७ हजार रुपैयाँ शुल्क लागेको व्यहोरासहितको पत्र खाद्य विभागले वाणिज्य विभाग पठाएको हो । नयाँ पत्रिका दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्