सिँचाइ संरचना निर्माण गर्न २ अर्ब बढी लाग्छः मन्त्री पुन

काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई मधेसको बाढीका कारण क्षति भएको सिँचाइका स्थायी संरचना निर्माणका लागि दुई अर्ब रुपियाँभन्दा बढी लागत अनुमान गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा विशेष सयम लिएर मन्त्रालयसम्बद्ध प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले बाढीका कारण भत्किएका सिँचाइका संरचना निर्माणमा तत्कालका लागि ३३ करोड र स्थायी संरचना निर्माणका लागि दुई अर्ब ११ करोड २२ लाख रुपियाँ लागत अनुमान गरिएको बताएका हुन् । उनले विभिन्न समयमा सदनका शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नमा लागत स्पष्ट पारे ।

सदनमा जवाफका क्रममा मन्त्री पुनले भने, “तत्काल निर्माणका लागि ३३ करोड रुपैयाँ लागत हामीले अनुमान गरेका छौँ । यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषसँग माग गरिएको छ । स्थायी संरचना बनाउन दुई अर्ब ११ करोड २२ लाख लाग्ने अनुमान गरेका छौँ । उक्त रकमका लागि अर्थ मन्त्रालयमा माग भएको छ ।”

मन्त्री पुनले आकस्मिक रूपको अनावृष्टिका कारण क्षति बढेको पनि बताए । औसत रूपमा पर्ने गरेको तुलनामा पानी अझै नपरे पनि कतिपय क्षेत्रमा अनावृष्टि भएको मन्त्री पुनको भनाइ छ । उनले बाढीबाट क्षति पुगेका जिल्लामा तत्काल पुनःनिर्माणका लागि रकमसमेत विनियोजन भइसकेको जानकारी सदनमा दिए ।

उनले प्राकृतिक विपत्ति मानव सिर्जित समस्या भएकाले यसतर्फ सचेत रहन पनि आग्रह गरे । विपद् व्यवस्थापन प्राधिकरण निर्माण गर्ने विधेयक पारित भइसकेको अवस्थामा सोअनुसार संरचना निर्माणमा सबै तहका सरकारले तदरुकता दिनुपर्ने भनाइ उनको छ । नदी नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा स्पष्ट कार्यविभाजन रहेको पनि मन्त्री पुनको भनाइ छ ।

जुम्ला केन्द्रीय प्रसारणमा
मन्त्री पुनले आगमी दुई वर्षभित्र जुम्ला जिल्ला विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए । अघिल्लो बैठकमा सांसद गजेन्द्रबहादुर महतले सरकारले विद्युत् निर्यातको योजना बनाइरहे पनि जुम्ला अन्धकारमा रहेको भन्दै आलोचना गरेका थिए । वैकल्पिक रूपमा सञ्चालनमा रहेको लघुजलविद्युत् पनि बन्द रहेको भन्दै महतले आलोचना गरेका थिए ।

सांसद महतले उठाएका प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले अस्थायी रूपमा कालीगण्डकी जलविद्युत् आयोजनाको ३०० केभीए क्षमताको डिजल प्लान्टलाई जुम्ला लैजाने निर्णय भइसकेको बताए । उनले केन्द्रीय प्रसारण लाइनमा जुम्लालाई जोड्नका लागि प्रसारण लाइन निर्माणाधीन रहेको पनि जानकारी दिए। प्रसारण लाइनको ठेक्का सम्झौता सम्पन्न भइसकेको भन्दै उहाँले दुई वर्षभित्र जुम्ला केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए ।

मन्त्री पुनले भने, “दैलेख मार्माको प्रसारण लाइन निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ । दुई वर्षभित्र जुम्ला केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ ।”

कमेन्ट गर्नुहोस्