विप्लव समूह परित्याग गर्दै पूर्वसांसद किरण राई नेकपा प्रवेश

काठमाडौंः संविधान सभाका पूर्वसदस्य किरणकुमार राईले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा परित्याग गरेका छन् । उनले विप्लवको नेकपा त्यागेर आफू सत्तारुढ नेकपा प्रवेश गरेको बताए ।

विप्लवका केन्द्रीय सदस्य तथा कोशी व्यूरो प्रमुख राई यसअघि पटक पटक गिरफ्तार भएका थिए। सरकारले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउनुअघि र पछि पनि उनलाई प्रहरीले पक्राउ गर्दै हिरासतमा राख्ने गरेको थियो।

जनयुद्धका बेला राई एकजना कुशल लडाकु कमाण्डरका रुपमा चिनिन्थे। जनयुद्धका समयमा तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत भएका राईले शुक्रवार सञ्‍चारकर्मीसँगको कुराकानीमा विप्लव जिम्मेवारी त्यागेर सत्तारुढ दल नेकपामा प्रवेश गरेको बताएका हुन्।

विप्लव छाडेर नेकपामा प्रवेश गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल र गृहमनत्री रामबहादुर थापासँग सहमति भएको उनले खुलासा गरेका छन्। ‘निशान’ उपनामले चिनिने उनी माओवादी शान्ति प्रकिृयामा आएपछि सुनसरी क्षेत्र नम्बर १ बाट २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका थिए। त्यो बेला उनले धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता मनोज मेन्याङ्वोलाई पराजित गरेका थिए । राईले सत्तारुढ नेकपामा प्रवेश गरेपछि आफू धरानको विकासमा क्रियाशील हुने बताए ।

कमेन्ट गर्नुहोस्