Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ललितपुरमा ब्रुमर र पानी ट्याङ्कर सञ्चालनमा

ललितपुर, साउन २५ । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे ।

उनले भने, ‘ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक जावलाखेलदेखि नख्खु पुल र पुल्चोकदेखि लगनखेलसम्म आवश्यकताअनुसार सञ्चालन गरिनेछन् ।’ महानगरप्रमुख महर्जनले रु चार करोड ४८ लाख ११ हजार २८० तिरेर ललितपुरमा दुई ब्रुमर भित्र्याएको जानकारी दिए ।

जेनटेक प्राइभेट लिमिटेड कम्पनीका प्रबन्ध निर्देशक राजन श्रेष्ठले सो बु्रमर डिजेलबाट चल्ने बताए । श्रेष्ठले भने, ‘सो बु्रमरसँग ६२० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।’ सो कम्पनीले ललितपुरमा दैनिक ब्रुमर सञ्चालन गराउन महानगरका पाँच प्राविधिकलाई निःशुल्क तालीम दिइसकेको छ । यो ब्रुमरले परीक्षणकालका लागि एक हप्ता ललितपुरको मुख्य सडक मात्र सफा गर्नेछ । खुमलटारमा कार्यालय रहेको सो कम्पनीसँग दुई वर्ष बु्रमरको पूरै रेखदेख र मर्मतसम्भार गर्ने जिम्मेवारी रहेको श्रेष्ठले जनाए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: