४ प्रदेशको नाम र राजधानी अझै अन्योल, यस्ता छन् विकल्प

काठमाडौंः संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ।

तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ। चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन्।

प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ मा राजनीतिक दल तथा प्रदेशसभा सदस्यका बीचमा रहेको विवादकै कारण प्रदेश राजधानी र नाम तोक्न नसकिएको हो ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रत्येक प्रदेशले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाको दुई तिहाइ बहुमतबाट तोक्नुपर्ने हुन्छ । प्रदेश २ बाहेकका प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाइ बहुमत पुगे पनि आन्तरिक विवादकै कारण तोक्नसमेत असहज भएको छ।

प्रदेश १
प्रदेश १ मा सत्तारुढ दल नेकपाले विराटनगरलाई स्थायी राजधानी बनाउने सहमति जुटेको छ । बृहत् विराटनगर निर्माणसँगै प्रदेशका संरचना त्यही प्रदेशभित्र अन्यत्र पनि राख्ने गरी सहमति जुटे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसमा आपत्ति जनाउँदै आएको छ।

प्रदेश १ को राजधानीका रूपमा विराटनगर, इटहरी, धरान, धनकुटा, सुन्दरहरैचास्थित गोठगाउँवासीले प्रदेशको राजधानी माग गर्दै संघर्षमै रहेका छन्।

प्रदेश २
प्रदेश २ को नाम र स्थायी राजधानी अन्य प्रदेशभन्दा पेचिलो बन्दै गएको छ। प्रदेश २ मा कुनै पनि दलको दुई तिहाइ बहुमत छैन। समाजवादी पार्टी र राजपा नेपालको गठबन्धनको प्रदेश सरकार छ।

प्रदेश सरकारले नाम र राजधानीका लागि सुझाव संकलन गरिसकेको छ । राजनीतिक दलबीच प्रदेशको राजधानी र नामबारे छलफल भए पनि निष्कर्ष निस्केको छैन।

प्रदेश २ मा स्थायी राजधानीका लागि जनकपुरधाम र वीरगन्ज हुनुपर्ने माग हुँदै आएको छ । प्रदेश २ को नाम मिथिला, सीता, तिरहुत, मधेस, मध्य मधेस, सिम्रौनगढ, भोजपुरा, मिथिला हुनुपर्ने सुझाव आयोगले दिएको छ।

प्रदेश ३
संघीय राजधानी काठमाडौंसमेत रहेको प्रदेश ३ को नाम र स्थायी राजधानीका विषयमा राजनीतिक दलबीच घोचपेच चलिरहेको छ। संघीय राजधानी नै प्रदेश ३ मै रहेकाले अन्य प्रदेशभन्दा यो प्रदेशमा टुंगो लगाउन सकस भइरहेको छ।

प्रदेशसभाको गत अधिवेशनमा राजधानीको लागि हेटौंडा, चितवन, काभ्रे, नुवाकोट र भक्तपुरको नाम प्रस्ताव गरिएको छ । राजधानी सम्भाव्यता अध्ययन समितिले यी पाँच ठाउँको नाम सिफारिस गरेको हो।

प्रदेश ५
प्रदेश २ जस्तै प्रदेश ५ मा समेत प्रदेश राजधानी र नामबारे तीव्र विवाद रहेको छ । यो प्रदेशमा पनि नाम र राजधानीबारे विवाद सुल्झिनुको साटो बल्झिदै गएको छ।

प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा सहमति नजिक राजनीतिक दल पुगे पनि स्थायी राजधानीका विषयमा टकराव बढ्दै गएको छ । प्रदेशको स्थायी राजधानीका लागि बुटवल, दाङ नै हुनुपर्नेमा तीव्र विवाद रहेको छ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । राजधानी र नामबारे छलफल सकारात्मक भइरहेको बताउँदै उनले सोबारे निर्णय छिट्टै नै हुने बताए।

बुटवल र दाङ नै हुनुपर्ने पक्षमा पार्टीकै शीर्ष नेता लागेपछि प्रदेश ५ मा विवाद पेचिलो बन्दै गएको छ । यो प्रदेशमा पनि सत्तारुढ दल नेकपाको दुई तिहाइ बहुमत रहेको छ। यो खबर आजको राजधानी दैनिकमा सुभास साहले लेखेका छन्।

कमेन्ट गर्नुहोस्