बाबर आजमले बनाए शानदार शतक, बने सर्बाधिक रनकर्ता

काठमाडौंः इंग्ल्याण्डमा जारी टि–२० ब्लास्ट क्रिकेट लिगमा पाकिस्तानी क्रिकेट टिमका उत्कृष्ट ब्याट्सम्यान बाबर आजमले शानदार शतक बनाएका छन् । समरेसट टिममा आवद्ध उनले शुक्रबार राति हाम्पशायरविरुद्ध ६ छक्का र ७ चौकाको मद्दतमा ५५ बलमा नट आउट १०२ रन बनाएका हुन् ।

टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको आइसीसी वरियतामा शीर्ष स्थानमा रहेका बाबरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे । टि–२० ब्लास्टको यो संस्करणमा उनी सर्बाधिक रनकर्तासमेत बनेका छन् ।

बाबरले ८ खेलमा ४२५ रन बनाउँदै शीर्ष स्थानमा छन् । उनीपछि डार्सी सर्ट छन् । उनले ८ खेलमा ३२६ रन जोडेका छन् । शुक्रबार भएको खेलमा बाबरको टिम डिएल मेथडका आधारमा ६३ रनले विजयी भएको छ ।

बाबरले हालै इंग्ल्याण्ड र वेल्समा सकिएको एकदिवसीय विश्वकप क्रिकेटमा पनि पाकिस्तानका तर्फबाट सर्बाधिक रन बनाएका थिए । उनले पाकिस्तानको तर्फबाट विश्वकप २०१९ मा पहिलो शतक बनाएका थिए ।

कमेन्ट गर्नुहोस्