प्रचण्ड भन्छन्, ‘जनता सामन्तवाद होइन लोकतन्त्र र जनवाद चाहन्छन्’

ललितपुरः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले जनताले लोकतन्त्र र जनवाद चाहेको बताएका छन्। हर्कबहादुर योङहाङ लिम्बुले लेखेको ‘हिलिहाङ इन द हिस्ट्रि अफ नेपाल’ पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले शनिबार नेपाली जनताले विगतमा जस्तो सामन्तवादी शासनसत्ता नचाहेको बताएका हुन् ।

ललितपुरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा विगतमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा दासयुगबाट सामन्तवादी युगमा ल्याएको र त्यतिबेलाका लागि त्यो अग्रगामी जस्तो भएको बताए। उनले अहिले सामन्तवादी युगको कल्पना गर्नू प्रतिगामी हुने बताए।

उनले अहिलेको जनताले एउटै भाषा, संस्कृति, भेषको शासनलाई नस्वीकार्ने बताए। उनले भने, ‘आजको जनताले लोकतन्त्र, जनतन्त्र चाहन्छ। आफ्नो पहिचान र अधिकार चाहन्छ। आफ्ना भनाई राज्यका नीति निर्माणको तहमा पुगुन् भन्ने चाहन्छन्।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सामन्तवाद त्यो बेलाको दास युगका लागि अग्रगामी भए पनि पछिल्लो समय विकासको वाधक र अधिकारको वाधक भएकाले आन्दोलनबाट लोकतन्त्र र जनवाद आएको बताए। त्यसका लागि हजारौँ मान्छेको बलिदान भएको बताउँदै यसलाई जोगाएर जानुपर्ने धारणा राखे।

कमेन्ट गर्नुहोस्