चिप्लिएर सुनकोशीमा खस्दा एक महिलाको मृत्यु

काठमाडौंः  पानी पिउने क्रममा चिप्लिएर लडेकी एक महिलालाई सुनकोशी नदीले बगाउँदा मृत्यु भएको छ ।

काभ्रे पाँचखाल गाउँपालिका–१० बेलाकी ३४ वर्षीया सरस्वती रायमाझी दुम्जास्थित खैरेनीघाटमा पानी पिउने क्रममा चिप्लिएर सुनकोशीमा डुब्न पुगेको जनाइएको छ ।

खुर्कोट इलाका प्रहरी कार्यालयका अनुसार, दुम्जाबाट ३० किलोमिटर तल चैनपुरबाट सुनकोशीले बगाउँदै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

उद्धारकर्ता खुर्कोटका विनोद श्रेष्ठका अनुसार, मान्छे बगाएको भन्ने हल्ला सुनेपछि मोटरसाइकलमा मुल्कोटका पाँचजना युवा लाइफ ज्याकेटसहित सुनकोशीमा पसेका थिए ।

निराश श्रेष्ठ, दीपक श्रेष्ठ, मनोज श्रेष्ठ, विनोद श्रेष्ठलगायतको टोलीले जोखिम मोलेर बर्षाको सुनकोशीको मुल्कोमा पुगेर महिलाको उद्धार गरेका थिए ।

प्रहरीका अनुसार, रामेछापको बेथानस्थित माइत हिँडेकी सरस्वती र उनका श्रीमान ओमबहादुर रायमाझी दुम्जामा ओर्लिएर कुशेश्वर दर्शन गरी खैरेनीघाटस्थित पुल तरेर गाडीको पर्खाइमा थिए ।

घाम चर्किएकाले पानी तिर्खा लाग्यो भनेर सुनकोशी किनारमा पुगेकी सरस्वती अचानक पल्टिएको मृतकका श्रीमान् ओमबहादुरले जानकारी दिएको प्रहरीले जनाएको छ ।

महिलालाई सुनकोशीले बगाएपछि स्थानीय र प्रहरीले ट्युवको सहायताले बीचबीचमा उद्धारको प्रयास गरे पनि करिव ३० किलोमिटर तल चैनपुरबाट मात्र उद्धार सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्