मध्यरातमा बंगलाचुली गाउँपालिका अध्यक्षकाे गाडीमा आगजनी

काठमाडौं । अज्ञात समूहले दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा गएराती आगजानी गरिदिएका छन् ।

अध्यक्ष भक्तबहादुर वली चढ्दै आएको रा १ झ १५२ नम्बरको गाडीमा गएराति करिब १२ः४५ को समयमा आगजनि भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले टेलिफोनमा जानकारी दिए ।

गाउपालिका वडा नं.५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएको गाडीमा आगजनी भएको हो । आगजनीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडिमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमान्डमा खटीएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको थियो ।

आगजनी कसले लगाएको भन्ने आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आगजनी गरेको हुन सक्ने अनुमान लगाएको छ ।

‘हाम्रो आशंका विप्लव तर्फ नै हो । तर, घटनास्थल नपुग्दा सम्म र अनुसन्धान पछि मात्रै त्यो कुरा भन्न मिल्छ,’ एसपी पाण्डेले भने । पाण्डेले आफु अहिले घटनास्थल तर्फ जादै गरेको पनि बताए ।

गाउपालिकाका अध्यक्ष पूर्व माओवादी नेता हुन् । रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो ।

कमेन्ट गर्नुहोस्