रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा ५ को मृत्यु

मस्को । रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा विस्फोट हुँदा ५ जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ ।

तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार सो दुर्घटना भएको थियो । यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो । रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना ५ जना कर्मचारीको मृत्यु भएको र अरू तीन जना घाइते भएको उल्लेख छ ।

स्थानीयले आणविक विकिरणको सम्भावना रहेको भन्दै सरकार र स्थानीय प्रशासन समक्ष सचेतता अपनाउन आग्रह गरेका थिए । तर, रोसाटोमले आणविक चुहावटको सम्भावना नरहेको स्पष्ट गरेको छ। रुसी पनडुब्बीमा प्रयोग हुने आणविक क्षेप्यास्त्रको परीक्षण स्थलमै दुर्घटना भएकाले यसको प्रभाव स्थानीयमा पर्न सक्ने बताइएको छ । स्थानीय सञ्चारमाध्यमले स्थानीय सहरमा आणविक विकिरणको स्तर बढेको समाचार दिएका छन् ।

रोसाटोमले मृत्यु भएका र घाइतेको शरीर परीक्षण र उपचारका लागि राजधानी मस्को ल्याइएको जनाएको छ । घाइतेहरूको विशिष्टीकृत मेडिकल सेन्टरमा उपचार भइरहेको रोसाटोमले बताएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्