अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रभातफेरी

धनगढी । २०औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार धनगढीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरियो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, धनगढी उप–महानगरपालिका र युवा समिति धनगढीको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

धनगढी उप–महानगरपालिका कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा कैलालीमा क्रियाशिल संघसंस्था, विभिन्न कार्यालय, विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोषसभामा बोल्दै समाजिक विकास मन्त्री कृष्ण सुवेदीले यूवाहरुका क्षेत्रमा आफुहरुले काम गरिरहेको बताए । उनले युवाहरुका लागि काम गर्न खोज्दा केही मिडियाले आलोचना गरेको आरोप लगाए । हामीले यूवाहरुलाई विदेशी भाषा सिकाउन खोज्दा आलोचना भयो मन्त्री सुवेदीले भने, भाषा जस्को सिकेपनि केही हुँदैन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले युवाहरुलाई उद्यमशीलतामा नलगाएसम्म समृद्धि ल्याउन नसकिने बताए । युवाहरु पढे–लेखेका छन्, तर पनि के गर्ने भन्ने निर्णय लिन नसक्दा अन्तमा विदेश पलायन हुने गरेका छन् । सामाजिक विकास मन्त्रालयमा सचिव गोगन हमालले यूवाहरुका उद्यमशीलतामा लगाउनका लागि उनीहरुलाई उचित परामर्श आवश्यक हुने बताए ।
२०औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सेती अस्पतालका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्