सुदूरपश्चिममा गौरा एकादशी मनाइँदै

बैतडी । सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आइतबार गौरा एकादशी मनाइँदै छ । गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नुपर्ने मान्यता रहेको छ ।

गौरा पर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ । गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता भएकाले नयाँ व्रतालुहरुले समेत आज उपासना गर्ने प्रचलन छ ।

गौरा एकादशीदेखि गौरा पर्व सुरुवात भएको मानिने ज्योतिष कृष्णानन्द अवस्थीले जानकारी दिए । भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भनिन्छ । गौरा पर्व अगामी भदौ ६ मा रहेको छ ।

पौराणिककालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यस पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

यस पर्वको महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन् । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पुजाअर्चना गरी महिलाहरुले दुवधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन् । साँझ अभिषेक गरेर दुवधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् ।

सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ।

कमेन्ट गर्नुहोस्