कलंकीस्थित गेष्ट हाउसबाट लागूऔषधसहित पाँच पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरि नगरपालिका थानकोट बस्ने ३५ वर्षीय पूर्णदास गोपाली सहित ५ जनालाई लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साथै, पूर्णदास गोपालीको साथबाट नगद ९२ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सो गेष्ट हाउसमा जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान गर्ने क्रममा निज गोपालीका साथीहरु बा.१.ज ७८७७ नम्बरका ट्याक्सी चालक ललितपुर बखुण्डोल बस्ने तनहुँ दमौली घर भएका ५० वर्षीय जिवन राणा र नख्खु बस्ने नवलपरासी रजहर घर भएका ४० वर्षीय नौमाया मगरलाई लागूऔषध नुरफिन ७० एम्पुल, डाईजोपाम ७० एम्पुल र फेनरागन ७० एम्पुल सहित सानेपाबाट पक्राउ गरेको छ ।

साथै ललितपुर महानगरपालिका ११ बखुण्डोलमा रहेको जिवन राणाको कोठाबाट थप लागूऔषध फेनारागन २ सय ५ एम्पुल, नुरफिन १ सय ४३ एम्पुल, डाईजोपाम १ सय ७३ एम्पुल, १ तोलाको सुनको सिक्रि १ थान, ३.५ तोलाको सुनको औंठी १ थान, चाँदीको चेन ४ तोला र नगद २ लाख ७९ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका ४ धरान लाईनस्थित कोशी राजमार्गबाट कैलाली धनगढी उपमहानगरपालिका २ घर भएका नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीमा सेनानी पदमा कार्यरत ३६ वर्षीय अजित प्रसाद सिंह र सुनसरी रामधुनी नगरपालिका(१ बस्ने २२ वर्षीय प्रमोदकुमार चौधरीलाई १ ग्राम ३ सय २० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्