सपिङ कम्प्लेक्सको निर्माण शुरु, ६८ ओटा व्यावसायिक सटर निर्माण गरिने

बुटवल । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ ।

बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरे । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरे ।

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो । सो कार्यका लागि उपमहानगरपालिका र कोषबीच गत फागुनमा सम्झौता भएको थियो ।

भवनका लागि रू. १० करोड ८४ लाख खर्च हुने अनुमान छ । वि.सं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्ड बमोजिमका व्यावसायिक सटर निर्माण गरिने भएकामा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७र २७ सटर निर्माण गरिने बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्