काङ्ग्रेसको अबको बाटो

काठमाडौं । अहिले नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको छ । यो बैठक धेरै अर्थमा महत्त्वपूर्ण छ र यसले धेरै विषयवस्तुलाई समेटेको छ । यसले राष्ट्रिय जागरण कार्यक्रमको समीक्षा गर्नेछ, त्यस्ता कार्यक्रमको मार्गचित्र प्रस्तुत गर्नेछ ।

बैठकले अधिवेशन गर्नुपर्ने र अधिवेशन गर्ने समय समाप्त भइसकेका भ्रातृ सङ्गठनलाई पुनर्ताजगी गर्ने र क्रियाशील गराउनेतर्फ नीतिगत निर्णय लिनेछ ।जनसम्पर्क समितिहरूका सन्दर्भमा पनि निर्णय लिनेछ ।

सबैभन्दा महत्त्वपूर्ण, काङ्ग्रेसको महासमिति बैठकले मुलुकको नयाँ संरचनाअनुसार विधान बनाएको छ । त्यही अनुरूप राज्यको पुनःसंरचना अनुसार पार्टीको संगठनलाई रूपान्तरित गर्ने सम्बन्धमा पनि निर्णय लिनेछ । यी तमाम निर्णय गरिसकेपछि पार्टीले सङ्गठन निर्माणमा एउटा नयाँ अध्याय प्रारम्भ गर्नेछ ।

पार्टीको पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण कार्यक्रम समाप्त भइसकेको छ । अब भदौमा मुलुकका सबै ३३० प्रदेश निर्वाचन क्षेत्रमा पन्ध्रदिने कार्यक्रम थालिनेछ । ती सबै स्थानमा केन्द्रबाट पार्टी प्रतिनिधिहरू पुग्नुहुनेछ । दोस्रो चरणको यो कार्यक्रम पूरा हुँदा पार्टी देशको हरेक गाउँ र टोलमा पुग्नेछ । पुसमा हुने तेस्रो तथा अन्तिम चरणको दसदिने कार्यक्रममा पार्टीका सम्पूर्ण शक्ति देशको हरेक स्थानीय निकायमा (७५३ गाउँपालिका र नगरपालिका) पुग्नेछ । अन्तिम चरण पूरा गर्दासम्म काङ्ग्रेसले हरेक नेपालीको घरमा पुग्ने लक्ष्य पूरा गर्नेछ । यी तीन चरणका राष्ट्रिय जागरण कार्यक्रममार्फत पार्टीको नीति, सिद्धान्त, कार्यक्रमका विषयलाई कार्यकर्तामा मात्र नभई आम जनताबीच पुर्‍याइनेछ ।र यसबाट काङ्ग्रेसको जनाधार विस्तार हुनेछ ।

२०४८ को संसदीय निर्वाचमा काङ्ग्रेसले अहिलेसम्मकै सबैभन्दा धेरै ३८ प्रतिशत मत प्राप्त गरेको थियो । हामीले २०१५ को निर्वाचनमा ३७ प्रतिशत मत पाएका थियौं भने पछिल्लोमा ३६ प्रतिशत । पछिल्लो निर्वाचनमा विभिन्न कम्युनिस्ट पार्टी र अरू दल एकीकृत हुँदा काङ्ग्रेस पराजित भयो । समग्रमा कम्युनिस्ट पार्टीहरूले अपवादकै रूपमा धेरै मत पाए । ती सबैको जोड्दाखेरि ५० प्रतिशतभन्दा बढी थियो ।

याे पनि पढ्नुस  देउवा भन्छन्, ‘एनसेलको मैले नाम पनि सुनेको छैन्, वाइडबडीका विषयमा कुरा उठाउने म नै हुँ’

काङ्ग्रेसले यो अवस्थालाई नउल्टाएसम्म व्यावहारिक अर्थमा लोकतान्त्रिक संस्थाहरूलाई संस्थागत गर्ने काम हुन सक्तैन र भइरहेको पनि छैन ।

कम्युनिस्ट पार्टी र मधेशकेन्द्रित दलहरू एकीकृत भएकाले अब परम्परागत रूपमा ल्याइरहेको मतले नेपाली काङ्ग्रेस एक्लै बहुमतमा पुग्न सक्तैन । अब पार्टीको लक्ष्य मतदानको यो सीमालाई व्यापक विस्तार गर्ने हुनुपर्छ । काङ्ग्रेस एक्लैले सरकार बनाउन अर्को निर्वाचनमा कम्तीमा पनि ४५ प्रतिशत मत ल्याउन आवश्यक छ । यसका लागि लोकतान्त्रिक शक्ति बलियो हुनु जरुरी छ ।

काङ्ग्रेस सबल हुनुपर्छ र यसका लागि पूर्ण रूपमा पुनर्जागरण अत्यावश्यक छ । हाम्रो जनाधारको व्यापक विस्तार हुनुपर्छ । आम जनतामाझ सत्ताधारी दलले छरेको भ्रमको पर्दालाईच्यात्न आवश्यक छ । अनिमुलुकमा लोकतान्त्रिक मूल्यमान्यताले जरा गाड्नेछ । त्यो अवस्थामा मात्र नेपाल समृद्ध र सुखी राष्ट्र हुन सक्छ । वर्तमान सरकारको मूल्य, मान्यता, संस्कार र मार्गचित्रबाट त्यो पूरा हुन सक्तैन ।

सरकारले डेढ वर्षयता संस्थागत भ्रष्टाचार, असुरक्षा र लोकतान्त्रिक संस्थामाथिको आक्रमणलाई बढाएको छ । यो समयमा काङ्ग्रेसले आफूलाई सशक्त र जनताका भावनाहरूलाई हिजोका दिनमा भन्दा अझ प्रभावकारी ढंगबाट प्रतिनिधित्व गर्ने पार्टीमा रूपान्तरण गर्नुपर्छ । यसका लागि पार्टी नेतृत्वले दुईतीन काम गर्नुपर्छ । पहिलो, नेतृत्व वर्गले पार्टीको आन्तरिक जीवनमा मौलाएको व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।

पार्टी, पार्टीको विचार र जनतालाई केन्द्रविन्दुमा राख्न सके काङ्ग्रेस बलियो हुनु नपर्ने, जनाधार विस्तारित हुनु नपर्ने कुनै कारण छैन । व्यक्तिलाई केन्द्रविन्दुमा राख्ने परिस्थितिलाई उल्टाउन सके पार्टी बलियो हुन्छ । पार्टी बलियो हुँदा नै हामी सबै बलियो हुने हो । हामी व्यक्तिगत रूपमा बलियो भएर पार्टी बलियो हुँदैन । यस विषयमा पार्टीका सबै तहका नेतृत्वले विचार गर्नु आवश्यक छ ।

याे पनि पढ्नुस  देउवा भन्छन्, ‘एनसेलको मैले नाम पनि सुनेको छैन्, वाइडबडीका विषयमा कुरा उठाउने म नै हुँ’

अहिले प्रारम्भिक सदस्यसँगसँगै क्रियाशील सदस्यताहरूलाई टुङ्गो लगाएर महाधिवेशनको बाटामा पुग्ने र महाधिवेशन सम्पन्न भइसक्दा काङ्ग्रेस अत्यन्त सशक्त र सुस्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्ने पार्टीका रूपमा रूपान्तरण गर्ने चुनौती छ, त्यो गर्न सकिन्छ ।

महाधिवेशनसम्मको छोटो समयलाई विगतका कमीकमजोरी र ढिलाइलाई पनि क्षतिपूर्ति गरी पार्टीका विभागलाई पूर्णता दिने, पुनःसंरचित संरचनाहरूलाई पूर्णता दिने, भ्रातृ र शुभेच्छुक संस्थालाई पूर्ण क्रियाशील बनाउने एवं अधिवेशन नभएका सङ्गठनहरूको अधिवेशन सकेर ती संगठनलाई आ–आफ्ना अधिकार क्षेत्रमा अघि बढाउनुपर्छ । अनि स्थानीयदेखि केन्द्र सरकारसम्मका बदमासी, कमजोर लोकतान्त्रिक संस्था, संस्थागत भ्रष्टाचार र जनताका दैनिक सरोकारका विषयलाई निरन्तर रूपमा पार्टीको गतिविधी र कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनाइरहनुपर्छ ।

सरकार ठीक बाटामा हिँडेको छैन, तर काङ्ग्रेसले पनि लिनुपर्ने जिम्मेवारी लिन तयार नभएको हो कि भन्ने आम आशंका छ । जनताको यस्तो सन्देहलाई पूर्ण रूपमा अन्त्य गर्ने कुरो नै अहिले पार्टीको सर्वाधिक महत्त्वपूर्ण अजेन्डा बन्नुपर्छ । संसद्मा पनि पार्टीको संसदीय नेतृत्वले जनसरोकारका विषयका विधेयक, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, व्यक्तिको सम्पत्तिमाथिको अधिकार, परराष्ट्रसँग जोडिएका विषयहरूमा जीवन्त बहस र सरकारका गलत क्रियाकलापविरुद्ध सशक्त प्रस्तुतीलाई सँगसँगै लानुपर्छ ।

यसमा पार्टीको क्रियाशीलता बढेको पनि छ । पार्टी र संसद् दुवै मोर्चामा सशक्त प्रस्तुतीमार्फत काङ्ग्रेस जनताको सच्चा प्रतिनिधि रहेको र आजका दिनसम्म लोकतान्त्रिक मूल्यमान्यताको धरोहर बन्दै आएको विषय नै आम रूपमा बुझाउन जरुरी छ । काङ्ग्रेस केन्द्रीय समिति र केन्द्रीय नेतृत्व त्यो बाटामा उन्मुख छ ।

याे पनि पढ्नुस  देउवा भन्छन्, ‘एनसेलको मैले नाम पनि सुनेको छैन्, वाइडबडीका विषयमा कुरा उठाउने म नै हुँ’

अहिले केन्द्रीय समिति बैठकमा धेरै विषय सौहार्दपूर्ण तरिकाले अगाडि बढेका छन् । अधिकांश निर्णय सहमतिमा निष्कर्षमा पुगेका छन् । यद्यपि समग्र रूपमा आमसहमति खोज्दा विभाग निर्माणदेखि भ्रातृ संगठनसम्मलाई क्रियाशील गराउने निर्णयमा ढिलाइ भएको छ । तर सहमतिका साथ अघि बढ्ने परिपाटीले पार्टी नेतृत्व पङ्क्तिलाई एक ठाउँमा उभ्याउने बाटो खोलेको छ ।

अब ढिला नगरीकन पार्टी नेतृत्व एकीकृत हुनुपर्छ । हाम्रा गुनासा, चासो र चिन्ताहरूलाई लिएर नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा निर्धक्क बहस हुनुपर्छ र पार्टी संयन्त्रभित्र भइरहेको पनि छ । तर, त्यो संयन्त्रभित्रै रहनुपर्छ । त्यसले एउटा निष्कर्ष निकालिसकेपछि पार्टीका तमाम जिम्मेवार नेताहरूले सार्वजनिक ठाउँमा त्यसलाई अन्यथा बहसको विषय बनाउँदा कार्यकर्ता द्विविधामा पर्ने, आम जनता किंकर्तव्यविमूढ हुने हुन्छ । र, यस्तो परिस्थितिले सङ्गठन विस्तार एवं अर्को निर्वाचन एकल रूपमा जित्ने हाम्रो लक्ष्य पूरा हुन सक्तैन । यस दिशातर्फ सम्पूर्ण नेतृत्व पङ्क्ति सचेत हुनुपर्छ । यस्तो सचेतना बढेको छ, तर पूरै सोचेजस्तो भएको छैन । सचेतना बढ्नुमा कार्यकर्ता पङ्क्तिको योगदान धेरै छ ।

कार्यकर्ता पङ्क्तिले पार्टी नेतृत्व तहलाई एकअर्काको निन्दा नगर्न र विमतिका कुरा लिएर कार्यकर्तामाझ नआउन दबाव दिएको छ । केन्द्रीय समितिमै बहस गरेर निस्किएको निष्कर्ष सार्वजनिक रूपमा आफूहरूसमक्ष लिएर आउन उनीहरूले नेतृत्व पङ्क्तिलाई आग्रह गरेका छन् । यसबाट अतिशयोक्तिपूर्ण तरिकाबाट सार्वजनिक स्थानमा अभिव्यक्ति दिने प्रवृत्ति कम हुँदै गएको छ । यसले पार्टीलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने सोचसहितको प्रवृत्ति विकसित हुने विश्वास गर्न सकिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्