पश्चगमनको आँधी, प्रतिरोधकाे जिम्मा प्रचण्डको काँधमा

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखको नेपाल भ्रमणपछि नेपाली राजनीति अस्वभाविकरुपमा तरंगित बनेको छ ।

यो तरंगमा एकातिर राजावादी, संघीयता र धर्म निरपेक्षता विरोधी तत्वहरु सक्रिय देखिन्छन् भने अर्कोतर्फ बिभिन्न आन्दोलनको बलबाट प्राप्त उपलब्धि रक्षा गर्नुपर्छ भन्ने पक्ष छन् ।

यहीबीचमा नेकपाका एकजना अध्यक्ष प्रचण्ड नीजि भ्रमणमा दुबई गए । उनी फर्केलगत्तै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर हिँडे । दुई अध्यक्षबीच कतिपय महत्वपूर्ण मुद्दामा हुने नियमित छलफल र संवाद अवरुद्ध भएको अवस्थामा बिभिन्न शक्तिकेन्द्रको चलखेल तीब्र बन्यो ।

यो बीचमा दुईवटा घटनाले मुख्यरुपमा स्थान पाए । पहिलो, नेपाली मिडियामा नेकपा सचिवालय सदस्य तथा रक्षामन्त्री इश्वर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उनकै निवासमा भेटेको समाचार सार्वजनिक भयो । र, त्यसको लगत्तै सिंगापुरबाट फर्के भोलीपल्ट नै अध्यक्ष प्रचण्डले राजालाई नै लक्षित गरेर सम्बोधन गरे । उनले राजाले बढी चलखेल गर्न खोजे नागार्जुनबाट समेत गलहत्याउने आशयको विचार व्यक्त गरे ।

एउटै पार्टीका एकजना शीर्ष नेताले राजाको कडा आलोचना गर्नु र अर्को नेताले भेटेका अपुष्ट समाचार बाहिरिएपछि नेपाली राजनीतिमा हिन्दू राजतन्त्र पुनः फर्काउने आशयका गतिविधि र चर्चा चुलिए । कतिपय राजावादी शक्तिहरुले खुलेरै राजका पक्षमा अभिव्यक्ति र उपस्थिति जनाए । यद्यपी रक्षामन्त्री इश्वर पोखरेलले भने आफूले राजालाई भेटेको कुरा प्रमाणित गर्न चुनौती दिए । त्यसो त उनले चर्चा उठानको शुरुमा नै त्यसरी स्पष्ट पारेनन् बरु आलोचना र विवादको चाङ चुलिएपछि मात्र उनको त्यो प्रतिक्रिया सार्वजनिक भयो ।

भारतमा नरेन्द्र मोदीले बहुमतसहित दोश्रो कार्यकालका नेतृत्व सम्हालेपछि भारतीय जनता पार्टीको वैचारिक स्तम्भका रुपमा रहेको हिन्दुवादको प्रभाव नेपालमा कसिलो हुन्छ भन्ने आँकलन नगरिएको होइन । राजनीतिकरुपमा नेपालमाथि विगत जस्तो प्रभुत्व कायम गर्न नसकिने अवस्थामा हिन्दूवाद नै मोदीका लागि नेपालमा विस्तारवादलाई कायम राख्ने एउटा कडी बन्न सक्ने आँकलन कतिपयले गरे । यो आँकलनको अन्तिम कडी मोदीले ढिलो या चाँडो नेपालमा धर्म सापेक्ष र संघीयताविरोधी जनमतको निर्माण गर्छन् र त्यसका लागि नेपालका बिभिन्न शक्तिभित्रका अन्तरविरोधसँग खेल्ने रणनीति बनाउँछन् भन्ने देखिन्छ । यो आधारमा हेर्दा अहिलेका पछिल्ला गतिविधिहरुका पछाडि रअ प्रमुखको नेपाल भ्रमण र भारतीय पक्षको सोझो स्वार्थ जोडिएको कुरामा विश्वास गर्न सकिने प्रशस्त ठाउँ देखिन्छ ।

नेपाललाई राजासहितको या राजारहितको हिन्दू राज्यमा फर्काउने कोशीस यो पहिलोपटक भएको भने होइन । एकथरिले यसका लागि संविधानको निर्माण अगाडिदेखि नै कोशीस गर्दै आएका हुन । देशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त घोषितरुपमा नै राजाको वकालत गर्दै आएको पनि छ ।

तर बिडम्बना के छ भने गणतन्त्रको वकालत गर्ने विप्लवहरुलाई राज्यले प्रतिबन्ध लगाएको छ भने संविधानलाई उल्ट्याएर प्रतिगमन निम्त्याउन खोज्नेहरु भने खुलेआम राजनीति गरिरहेका छन् ।

जे होस्, यो परिस्थितिमा नेकपाका अध्यक्ष प्रचण्डले इतिहासको रथ उल्ट्याउन खोज्नेलाई कडा प्रतिरोध गरेका छन् । संयोग कस्तो छ भने एकीकृत पार्टीमा प्रचण्डले पछिल्लो राजनीतिक अभ्यासलाई प्रतिगमन निम्त्याउने चलखेलका रुपमा व्याख्या गरेका छन् । पार्टीले जनताको अपेक्षा पुरा गर्न सकेन र एकताको प्रक्रियालाई चाँडो टुंग्याउन नसक्ने हो भने यसले प्रतिक्रियावादी र पुनरुत्थानवादी शक्तिहरुले मौका पाउने कुरा उनले बारम्बार बोलिरहेका छन् ।

अचम्म के छ भने, पार्टीका एकजना अध्यक्षले प्रतिगमनको खतरा अहिले बलियो बनेको बताइरहँदा एकताकै अर्को पक्षबाट भने यसबारेमा कुनै प्रतिक्रिया या चासो व्यक्त गरिएको देखिँदैन । बरु मिडियामा सरकारकै जिम्मेवार मन्त्रीले प्रतिगमनका सारथीसँग वार्ता गरेको सार्वजनिक भइरहेको छ । अर्कोतर्फ सरकार टिकाइराख्नका लागि भारतीय पक्षसँग यो वा त्यो रुपमा सम्झौता गर्ने कुरा पन बारम्बार मिडियामा आइरहेका छन् । विषादी परीक्षणदेखि कश्मिर मामिलामा नेपालले चासो व्यक्त नगर्नु जस्ता कतिपय पक्ष हेर्दा नेकपाभित्रको एउटा तप्काले भारतको समर्थन खोजेको स्पष्ट देखिन्छ । र, कालान्तरमा यही पक्षले भारतको गुणको बदला तिर्न यो समर्थनसँगै जोडिएको हिन्दुवादलाई नेपालमा संस्थागत गर्न प्रत्यक्ष या परोक्षरुपमा सहयोग नगर्ला भन्न सकिन्न ।

सर्सती प्रचण्डका गतिविधि र अभिव्यक्ति हेर्दा उनीभित्र समाजलाई यथास्थिति भन्दा एक धक्का अगाडि बढाउने हुटहुटी देखिन्छ । खासगरी सरकारका काम कार्वाही, संघीयताविरोधी ऐनदेखि अन्य कदमहरु र हिन्दू राजतन्त्रवादीहरुको चलखेलका कारण देश बहुदलवाद र संसदवादकै गोलचक्करमा फसिरहन सक्ने खतरा उनले देखेका छन् । पार्टीभित्र जबजलाई नै निरन्तरता दिने या नयाँ कार्यक्रमसहितको कार्यदिशा निर्माण गर्ने प्रश्नलाई समेत प्रचण्डले मूलतः यथास्थिति या पूँजिवादी संसदवादमा नै रमाईराख्ने या अग्रगामी फडकोतर्फ जाने बहसका रुपमा ब्याख्या गर्दै आएको देखिन्छ । यसरी हेर्दा नेकपाभित्र नै एउटा बलियो पक्षबाट पश्चगमनले फाइदा लिइराखेको अवस्थामा प्रचण्डको काँधमा पश्चगमनलाई वैचारिक र सांगठनिकरुपमा प्रतिरोध गर्नुपर्ने जिम्मेवारी आइपरेको छ ।

पश्चगमनको आँधीविरुद्ध नेकपाले सशक्त प्रतिकार गर्नुपर्ने प्रचण्डको बलियो मत देखिन्छ । यद्यपी पार्टीभित्र भने संक्रमणकालाई टुंगो लगाएर समाजवादी क्रान्तिको आधार तयार पार्ने राजनीतिक कार्यक्रमका पक्षमा बहस गर्ने संस्कार र परिपाटी अझै विकास हुन नसक्नु भने बिडम्बनाको विषय नै बनेको छ ।

त्यसाे त यथास्थितिमा रुमल्लिरहेको राजनीतिक खेलचक्रलाई निर्णायकरुपमा गोलपोष्टमा प्रहार गर्ने नेतामा गनिन्छन् प्रचण्ड । खेलको प्रकृति बुझेर, खेलाडीहरुको मनोभाव बुझेर उचाईको रणनीतिसँगै गोल गर्दै आएका छन् उनी । यी गोलहरु कहिले गोलपोष्टमा छिर्दैनन् । तर उनी प्रहार गर्न चुक्दैनन् । रोनाल्डो, मेस्सी, नेइमार, जे भनेपनि प्रचण्डका गोल अधिकांश पोष्टमैं प्रहार हुन्छन् । र, शुरु हुन्छ नयाँ अध्याय ।

नेपालको राजनीतिक इतिहास केलाउने हो भने २०३५ सालदेखिको प्रचण्डको यात्रामा उनले कैयन् यस्ता निर्णायक गोल हानेका छन् । यी गोलहरु अपत्यारिला हुन्छन् । असहज हुन्छन् । के के न हो जस्तो लाग्छ, तर हरके गोलहरुले राजनीतिलाई एक अध्याय अगाडि लगेको हुन्छ ।

अहिले पश्चगमनकाे चलखेल तीब्र भएकाे बेला याे गाेल हान्ने जिम्मेवारी फेरि उनकाे काँधमा पुगेका छ ।

कमेन्ट गर्नुहोस्