मदिराको कच्चा पदार्थ एनइएको नयाँ मापदण्डले प्रिमियम अर्गानिक्स बन्द

विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटले डिस्टिलरीले अन्नबाट निकाल्ने एक्स्ट्रा न्याचुरल स्पिरिट (एनइए)को नयाँ मापदण्ड बनाएपछि सुनसरीको प्रिमियर अर्गानिक्स प्रालि पूर्णतःबन्द भएको छ भने देशभरिका दर्जनौँ मदिरा उद्योग प्रभावित भएका छन् ।

एनइए मदिराको कच्चा पदार्थ हो । नयाँ मापदण्डका कारण शारडा समूह र एके राठी समूहको संयुक्त साझेदारीमा चलेको प्रिमियर अर्गानिक्स विगत अढाई महिनादेखि बन्द भएको हो । शारडा समूहका निर्देशक पवनकुमार शारडाले प्रिमियर अर्गानिक्स अढाई महिनादेखि बन्द भएको पुष्टि गरे।

एनइएको उत्पादनमा लगाइएको नयाँ मापदण्डका कारण चण्डिका डिस्टिलरी पनि सङ्कटमा परेको प्रबन्धक ओमकार थापाले बताए। प्रबन्धक थापाका अनुसार एक सय किलोग्राम चामल वा कनिकाबाट बढीमा ३५ लिटरमात्र एनइए उत्पादन गर्न सकिन्छ । तर जेठ १५ को बजेटले ४२ लिटरको मापदण्ड तोकिदिएको छ । कुनै उद्योगले एक सय किलोग्राम अन्नबाट ३५ लिटर एनइए उत्पादन गरेको रहेछ भने आन्तरिक राजस्व कार्यालयले नयाँ मापदण्डअनुसार ४२ लिटरमा राजस्व लिन्छ। एनइएको राजस्वको दर निकै चर्को छ । यसका कारण मदिरा उद्योगहरू सङ्कटमा परेका हुन्।

एक लिटर एनइएको कारखाना मूल्य ९० रुपैयाँ छ। यसमा ६५ रुपैयाँ अन्तःशुल्क लाग्दा १५५ रुपैयाँ भयो । यसमा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दा १७५ रुपैयाँ १५ पैसा हुन्छ । तर मदिरा उद्योगले आफूले उत्पादन नै नगरेको र विक्री नै नभएको एनइएको अन्तःशुल्क, मूअकर र त्यसबापत पछि लाग्ने आयकर समेत तिर्नुपर्ने स्थिति आएको प्रबन्धक थापाको भनाइ थियो।

शारडा र राठीको साझेदारीमा सञ्चालित प्रिमियर अर्गानिक्सका तयारी मदिरा बजारमा त्यति चल्न सकेका छैनन्। निकै तामझामका साथ ल्याइएको जिङ्क भोड्का पनि बजारमा सफल हुन सकेन । तयारी मदिरा नचलेपछि यस उद्योगले एनइए विक्री गरेर आफूलाई टिकाइरहेको थियो । प्रिमियरबाट एनइए खरिद गर्नेमा युनाइटेड स्पिरिट, गोल्डेन ग्लोब लिकर्स, पूर्वाञ्चल डिस्टिलरी र यति डिस्टिलरी मुख्य हुन् । चण्डिका डिस्टिलरी पनिएनइएको पुरानो मौज्दातले हालसम्म सञ्चालन भइरहेको र अब तयारी मदिराका लागि एलसीखोलेर भारतबाट एनइए मगाउनुपर्ने अवस्था आएको ओमकारको भनाइ छ।

उनकाअनुसार आव २०७५–ण्७६ सम्म सरकारले एनइएको मापदण्ड ३०.५७ प्रतिशत तोकेको थियो। अर्थात् एक क्विन्टल खाद्यान्नमा ३० दशमलव ५७ लिटर एनइए उत्पादन हुनुपर्ने भन्ने थियो । उक्त मापदण्डमा कामगर्न सजिलो थियो । किनकि सामान्यतया एनइएको औसत उत्पादन ३२ प्रतिशतमा हुने गर्छ । ज्यादै राम्रो र केही नमिसाइएको चामल रहेछ भने मात्र ३५ प्रतिशत उत्पादन हुन्छ ।

तर गत आव सम्मको ३० दशमलव ५७ प्रतिशत मापदण्डलाई चालु आर्थिक वर्षमा अस्वाभाविक ढङ्गले वृद्धि गरेर ४२ प्रतिशत बनाउँदा मुलुक भरिका मदिरा उद्योग अप्ठ्यारोमा परेको उनको टिप्पणी थियो।

थापाका अनुसार चण्डिकाले दैनिक २० हजार लिटर एनइए उत्पादन गर्ने क्षमता राख्छ। त्यस्तै प्रिमियरको क्षमता ४० हजार लिटर छ । मदिरा उद्योगको मुख्य कच्चापदार्थ स्पिरिट पनि दुई प्रकारको हुन्छ। पहिलो रेक्टिफाइड स्पिरिट (आरएस) र दोस्रो एनइए हो । एनइएभन्दा आरएस कम प्रशोधित हुन्छ। आरएसको प्रशोधनबाटै एनइएको उत्पादन गरिन्छ ।

थापाले भने, ‘अघिल्लो आव २०७४–७५ सम्म मदिरा उद्योगले आरएस र इएनए गरी दुबै प्रकारका कच्चा पदार्थ उत्पादन गर्न पाउँथे । तर, गत आव २०७५–७६ को बजेटले आरएसको उत्पादन गर्न नपाउने भन्ने नीति ल्यायो। चालु आवको बजेटले त कारखाना नै बन्दगर्ने स्थितिमा पुर्याएको छ ।’

कमेन्ट गर्नुहोस्