रासनभत्ता थोरै हुँदा डोटीमा बस्न रुचाउँदैनन् प्रहरी

काठमाडौं । डोटी जिल्लामा नेपाल प्रहरीको दरबन्दी तीन सय ९६ जना भए पनि हाल दुई सय ९१ मात्रै कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय डोटीअन्तर्गतका युनिटमा एक सय पाँचजनाको अभाव छ । शान्ति सुरक्षाका लागि स्थानीय तहले प्रहरीको संख्या थप गर्न माग गर्दा प्रहरी व्यवस्था गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए । ‘जिल्लाका सबैजसो स्थानीय तहबाट प्रहरी धेरै हुनुपर्यो, संख्या बढाउनुपर्यो भन्ने माग छ, तर पठाउन सकिएको छैन,’ उनले भने ।

डोटी सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले डौड प्रहरीचौकीमा प्रहरी कर्मचारीको संख्या बढाउनुपर्ने माग राखेका छन् । ‘हाम्रो भूगोल ठूलो छ, प्रहरी संख्या कम भयो, केही प्रहरी थप गर्नुपर्यो भनेको छु, उहाँहरू अभाव छ मात्र भन्नुहुन्छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जिल्लामै कम भएका कारण प्रहरी पठाउन नसकिएको जानकारी दिए । ‘एक त प्रहरी दरबन्दी नै कम छ, अर्को प्रहरी कर्मचारी डोटी आउनै मान्दैनन् । हामीसँग भएका प्रहरीलाई नै जिल्लाका सबै ठाउँमा परिचालन गर्नुपर्ने अवस्था छ,’ उनले भने । काजमा आउने प्रहरीको संख्या धेरै भए पनि डोटीमा भने न्यून छ ।

याे पनि पढ्नुस  एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

सुदूरपश्चिम प्रदेशमा कहाँ कति रासनभत्ता ?
सुदूरपश्चिम प्रदेशअन्तर्गतका नौ जिल्लामध्ये बझाङमा सबैभन्दा बढी रासनभत्ता छ । बझाङ (ख) मा दैनिक चार सय तीन रुपैयाँ भत्ता छ । दार्चुला (क) मा दुई सय ६५, (ख) मा तीन सय १७, बाजुरामा दुई सय ४७ कन्चनपुरमा एक सय ६६ र कैलाली एक सय ५८ रुपैयाँ दैनिक रासनभत्ता पाउँछन् । डोटीमा एक सय ६६, डडेल्धुरामा दुई सय १८, बैतडीमा दुई सय २८ र अछाममा दुई सय २५ रुपैयाँ रासनभत्ता प्रहरीले पाउने व्यवस्था छ ।

महँगी उस्तै तर डोटीमा थोरै सुविधा
डोटीमा प्रहरी कर्मचारी बस्न नचाहनुको मुख्य कारण न्यून रासनभत्ता भएको प्रहरी कर्मचारी बताउँछन् । ‘सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये सबैभन्दा कम रासनभत्ता पाउने जिल्ला डोटी हो,’ एक प्रहरी कर्मचारीले भने, ‘महँगी र अन्य हिसाबले अरू जिल्ला र डोटीमा केही फरक छैन ।’ उनले प्रदेश राजधानी कैलालीबाट डोटीमा आउँदा बाटोमा पर्ने जिल्ला डडेल्धुराका प्रहरीले दैनिक २१८ रुपैयाँ पाउने गरेको, तर डडेल्धुराभन्दा ६५ किलोमिटर टाढा डोटीमा काम गर्नेले जम्मा १६६ रुपैयाँ मात्रै पाउने गरेको बताए ।

याे पनि पढ्नुस  प्रहरीको यतिसम्म ज्यादती, चालकमाथि निर्घात कुटपिट

‘डोटी, अछाम र बैतडीको प्रकृति एउटै भए पनि अछाममा २२५ र बैतडीमा २२८ रुपैयाँ दैनिक रासनभत्ता दिइने गरेको छ,’ अर्का प्रहरी कर्मचारी प्रश्न गर्छन्, ‘अनि को आउने डोटी रु’ उनले डोटीमा कार्यरत प्रहरीलाई रासनभत्ताले नपुग्ने र तलबबाट रासन खानुपर्ने अवस्था रहेको बताए । उनी थप्छन्, ‘यो भत्ताले सदरमुकाममै बस्न सकिन्न, दुर्गम गाउँपालिका सायल, बोगटान, घाङलजस्ता गाउँमा खानलाई कसरी पुर्याउनु ?’

रासन कम भएका कारण डोटी सरुवा भएका प्रहरी कर्मचारी पनि काज मिलाएर अन्यत्र जाने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर धामीले बताए । ‘डोटीमा काजमा आउन कसैले चाहँदैनन्, तर डोटीबाट अन्यत्र काजमा जानेले भनसुनसमेत गर्न लाउँछन्,’ धामीले भने, ‘डोटीमा काजमा आउने भनेको घरपायक खोज्नका लागि आउने मात्रै हुन्छन् ।’

याे पनि पढ्नुस  सरकारले बजेट दिँदा पनि प्रहरीको रासनभत्ता बढेन !

कुल दरबन्दी संख्या ३९६ मध्ये हाल २८ जना बिदामा रहेका छन् भने ७७ दरबन्दी खाली छ । भएका प्रहरी जनशक्तिमध्ये कारागार सुरक्षा, उच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला अस्पताल, बाल सुधारगृह, क्षेत्रीय प्रशासनलगायत निकायको सुरक्षामा ५५ जना खटिएका छन् । जिल्लाको शान्ति सुरक्षाका लागि दुई सय ३६ जना प्रहरी मात्रै रहेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांकले देखाउँछ ।

०६८ सालको जनगणनाअनुसार डोटीको कुल जनसंख्या दुई लाख ११ हजार सात सय ४६ छ । यस आधारमा डोटीमा एक प्रहरी कर्मचारीले ८९७ सर्वसाधारणको सुरक्षा गर्नुपर्ने अवस्था छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक प्रहरी कर्मचारीले करिब तीन सय सर्वसाधारणलाई सुरक्षा दिनुपर्ने व्यवस्था छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइइएको हो ।

कमेन्ट गर्नुहोस्