पोखराको श्रम कार्यालयको सर्भर बन्यो

पोखरा । श्रम तथा रोजगार कार्यालय गण्डकीको सर्भरमा आएको समस्या अन्त्य भएको छ ।

२ दिनदेखि रोकिएको सेवा मंगलबार साँझदेखि सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं केन्द्रीय विभागबाटै नयाँ सर्भर फेरेपछि समस्या समाधान भएको कार्यालयले जनाएको छ ।

कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए । जसको प्रत्यक्ष कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई परेको थियो । डिभाइस कहिले बन्छ भन्नेबारे कर्मचारी नै अनभिज्ञ हुँदा दिनहुँ सेवाग्राहीले कार्यालयमै दिन बिताउन बाध्य थिए ।

याे पनि पढ्नुस  पोखराकी १ महिलाको आरडीटी परीक्षण ‘पोजेटिभ’

श्रम तथा वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले माइक्रो टिट डिभाइस विभागसँगै जोडिएको हुनाले त्यसमा खराबी आउँदा कार्यालयको सबै सेवालाई प्रभाव परेको जानकारी दिए । ‘यो डिभाइस विभागसँगै लिंक हुन्छ । साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सीधै जोडिएको हुन्छ ।’

याे पनि पढ्नुस  पोखरामा वडाध्यक्षको गाडीमा बम विष्फोट

श्रेष्ठले डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित पर्ने भएपछि मंगलबार बिहानदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी सेवा सुरु गरेको बताए । उनले भने, ‘बिहान वैकल्पिक डिभाइसको व्यवस्था गरी सेवाग्राहीको चापलाई ठेग्ने काम गर्‍यौं । तर दिउँसो विभागबाटै कर्मचारी आएर नयाँ डिभाइस जडान भइसकेको छ ।’ प्रदेशबाटै श्रम स्वीकृति लिन पाउने गरी कार्यालयको सुरुआत गत पुस २६ गतेबाट भएको हो । अहिले त्यहाँ दैनिक १ सय ६० जनासम्म सेवाग्राही सेवा लिन पुग्ने गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्