भिडियोको ल्याब रिपोर्ट आउने बित्तिकै रबि पक्राउ पर्ने, मोबाइल पनि अनुसन्धानमा

चितवन । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई आरोपित गरेपछि लामिछाने संकटमा परेका छन् ।

पुडासैनीले रेकर्ड गरेको भिडियो चितवन प्रहरीले प्राविधिक अनुसन्धानका लागि प्रयोगशाला पठाएको छ ।

प्रयोगशालाबाट रिपोर्ट आएलगत्तै उक्त विषयमा कार्वाही अघि बढाइने चितवनका एसपी दान बहादुर मल्ले जनाएका छन् ।

प्रहरीका अनुसार प्रयोगशालाबाट आजै रिपोर्ट आउने भएको छ । रिपोर्ट आएलगत्तै कानुन अनुसार रविलाई पक्राउका लागि टिम परिचालन गर्ने प्रहरीले जनाएको छ ।

नेपालको फौजदारी संहिताको दफा १८७ मा आत्महत्या गर्न दुरुत्साहन गरेको खण्डमा पाँच वर्ष जेल सजायको व्यवस्था छ । भिडियोमा भनिए अनुसार रवि लामिछानेकै कारण पुडासैनीले आत्महत्या गरेको प्रमाणित भएमा रविले सजाय भोग्ने देखिन्छ ।

अहिले भने पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धान चलिरहेकोले प्रारम्भिक चरणमा अनुसन्धानका लागि रविलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

आत्महत्याको प्रकरणका कानुनमा उल्लेख भए अनुसार, रविले पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको या नगरेको कुरा पत्ता लगाउन विषयमा सोधपुछ गरिने छ । एसपी मल्ले ल्याबको रिपोर्ट आएलगत्तै चितवनबाट टोली पठाएर रबिलाई नियन्त्रणमा लिई सोधपुछ गरिने बताए ।

मोबाईल पनि अनुसन्धानमा
भिडियोका अतिरिक्त चितवन प्रहरीले आत्महत्याको बेला पुडासैनीसँग रहेको मोबाइल समेत अनुसन्धानको दायरामा ल्याएको छ । मोबाईलमा रहेका म्यासेज, कल डिटेलको बिस्तृत अध्ययन गरि थप तथ्य पत्ता लगाउने मल्लले बताए ।

मल्लले भने, फौजदारी संहिता र नेपालको कानुनले निर्देश गरेबमोजिम अनुसन्धानमा कुनै कसर बाँकी राखिन्न । सबै पक्ष केलाउने काम भएको छ । भिडियोसँगै पुडासैनीको मोबाईल डिटेल्स र सामाजिक सञ्जालमार्फतका सञ्चारको समेत अनुसन्धान हुनेछ । यसका लागि जो जसलाई सोधपुछ गर्नुपर्ने हुन्छ, अनुसन्धानका क्रममा त्यो गरिन्छ ।

प्रहरीले भिडियामा उल्लेख भएकी एकजना महिलालाई समेत सोधपुछ गर्ने भएको छ । पुडासैनीले भिडियोमा रवि लामिछानेले एकजना महिलासँग जोडेर बदनाम गर्न खोजेको बताएपछि ती महिलासँग समेत सोधपुछ गरिने भएको हो । पुडासैनीले ती महिलासँग बलात्कारको केसमा रविले फसाउन खोजेको बताएका थिए ।

अनुसन्धानका क्रममा पुडासैनीको भिडियो मुख्य प्रमाण भएकोले सोसँग सम्बन्धित सबै विषयमा अनुसन्धान अघि बढाएर तथ्य अनुसार कानुनी कार्वाही गरिने मल्लले बताए ।

विश्वकै न्यायिक प्रकरणमा मृत्यु अघिको लिखित बयानलाई सत्य मान्ने गरिन्छ । अधिवक्त स्वागत नेपालका अनुसार, मर्नु अघि बोलिने कुरा सत्य हुन्छ भन्ने कुरा विश्वभरी नै अदालतमा मानिँदै आइएको छ ।

रबि लामिछानेका कतिपय समर्थकले उक्त भिडियो दबाबमा आएर खिचिएको बताइरहेका छन् । चितवन प्रहरीले भने यो विषयमा समेत अनुसन्धान गर्ने देखिन्छ । पुडासैनीले आत्महत्या गर्ने कारण के हो भन्ने विषय छिटै नै सार्वजनिक हुने मल्लले बताए ।

कमेन्ट गर्नुहोस्