एसीसीद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौंः  एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ ।

एसीसीले छनोट चरणलाई पनि पश्चिम क्षेत्र छनोट र पूर्व क्षेत्र छनोट गरी विभाजन गरेको छ । एउटा क्षेत्रबाट २ टीमले टी–२० एसिया कप खेल्न पाउनेछ । पूर्वक्षेत्र छनोट प्रतियोगिता थाइल्यान्डमा हुनेछ ।

मार्चमा हुने छनोटमा नेपालसँगै थाइल्यान्ड, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पश्चिम क्षेत्र छनोटमा बहराइन, ओमान, इरान, कतार, कुवेत, साउदी अरेबिया, माल्दिभ्स र युएई छन् ।

पूर्वी र पश्चिम क्षेत्र छनोटका शीर्ष दुई टीमबीच फेरि टी–२० एसिया कप छनोट खेल हुनेछ । त्यो प्रतियोगिता सन् २०२० को अगस्टमा मलेसियामा हुनेछ । उक्त छनोट प्रतियोगितामा पहिलो हुने टीमले टी –२० एसिया कप खेल्न पाउनेछ ।

टी–२० एसिया कप पाकिस्तानमा आयोजना हुनेछ । यो प्रतियोगितामा आयोजक पाकिस्तानसँगै भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एसिया कप छनोटको विजेता सहित गरेर ६ टीमको सहभागिता रहने छन् ।

कमेन्ट गर्नुहोस्