मुरलीधरन: जसका लागि वरदान बन्यो जन्मजात शारीरिक समस्या

काठमाडौंः  विश्व क्रिकेटमा जब जब बलिङको कुरा आउँछ, सबैभन्दा पहिला श्रीलंकाका महान स्पिनर मुथैया मुरलीधरनको नाम सबैको मुखमा आउने गर्छ ।

उनी विश्व क्रिकेटका दुई प्रमुख फर्म्याट टेस्ट र एकदिवसीयमा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहेका छन् र उनले खेलबाट सन्यास लिएको एक दशक हुन लाग्दा पनि उनको यो कीर्तिमान कायम छ ।

मुरलीधरनले स्पिन बलिङलाई नयाँ आयाम दिए । उसो त उनी स्पिन मात्र होइन सबै प्रकारका बलरका लागि आदर्श हुन् ।

लगभग ४७ वर्ष अगाडि १९७२ मा श्रीलंकाको क्यान्डी भन्ने शहरमा एउटा तमिल हिन्दू परिवारमा जन्मिएका देशबन्धु मुथैया मुरलीधरन नै विश्व क्रिकेटमा मुथैया मुरलीधरनका नामले चर्चित रहेका छन् ।

क्रिकेट इतिहासमै अभूतपूर्व उपलब्धि हासिल गरेका मुरलीधरनले आफ्नो सक्रियमा खेल जीवनमा १३४७ विकेट लिएका छन् जुन हालसम्मका लागि अजेय उपलब्धि हो ।

थुप्रै रेकर्ड बनाएका मुथैयाको शरीरमा एउटा जन्मजात विकलाङ्गता थियो भन्ने कुरा भने धेरैलाई थाहा थिएन ।

उनको कुहिनो सिधा गर्न मिल्दैनथ्यो । तर यसले गर्दा उनको नाडी अस्वाभाविक रूपले घुम्ने गर्दथ्यो । मुरलीले यसै कारण अरु बलरको तुलनामा बललाई बढी घुमाउन सक्थे । तर सुरुमा उनको यस बलिङ् शैलीले उनलाई निकै विवादित बनाएको थियो ।

एक से एक कीर्तिमानी प्रदर्शन गरेका मुथैयाको खेल्ने शैली भने सुरुमा निकै विवादित रह्यो । उनको ‘बलिङ एक्सन’मा थुप्रै पटक प्रश्न उठ्ने गऱ्यो तर उनी हरेक पटक त्यस्ता विवादबाट उम्किन सफल भए ।

उनको खेल्ने शैलीमा विपक्षी टीमका खेलाडीले मात्र नभई अम्पायरहरूले समेत प्रश्न उठेका थिए अस्ट्रेलियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान एडम गिलक्रिस्टले त आफ्नो आत्मकथा ‘ट्रु कलर्स’मा मुरलीधरनलाई आइसीसीभित्र राजनैतिक संरक्षण प्राप्त भएको आरोप लगाएका छन् ।

उनले त्यसै संरक्षणका कारण मुथैयाले बलिङका सारा रेकर्ड ध्वस्त पारेको आरोप समेत लगाएका छन् । उनले के सम्म लेखेका छन् भने आइसीसीले मुथैयालाई क्रिकेट खेल्ने अनुमति नै दिनु हुन्थेन ।

के थियो विवादको कारण?

खासमा यस विवादको कारण मुथैयाको विशिष्ट बलिङ एक्सन रहेको थियो । गिलक्रिस्टले बलिङ गर्दा मुथैयाको हात १५ डिग्री भन्दा बढी घुम्ने भएकाले उनको बलिङ शैली स्वीकार नगरिनुपर्ने तर्क दिएका छन् ।

सन् १९९५ मा अस्ट्रेलियाविरुद्धको टेस्टमा उनका लगातार सात बललाई अम्पायर ड्यारेल हेयरले अस्कावीर गर्दै ‘नो बल’ दिए । यस निर्णयले यति ठुलो विवादको रुप लियो कि श्रीलंकाली कप्तान अजुन रणतुङ्गाले सबै खेलाडीलाई लिएर आफू मैदान बाहिर जाने धम्की दिए ।

पछि खेल जारी राखिए पनि यसपछि दुई टीमबीचको सम्बन्ध भने निकै बिग्रियो र दुवै देशका छापाहरूमा एकअर्को देशका खेलाडीहरूप्रति आरोप प्रत्यारोपको शृंखला नै सुरु भयो ।

यो मुद्दा आइसीसीसम्म पुग्यो र १९९६ मा पश्चिमी युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया र हङ्गकङ्ग युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका जैव-रसायनशास्त्रीहरूले उनको बलिङ शैलीको प्रयोगशाला परीक्षण नै गरे ।

यस परीक्षणले उनको बलिङ एक्सन क्रिकेट नियमानुसार नै भएको तर उनको विशिष्ट शैलीले बल सोझै हुर्र्याइएको जस्तो दृष्टिभ्रम हुने निष्कर्ष निकाले ।

यस परीक्षणबाट एउटा अर्को कुरा समेत पत्ता लग्यो । मुरलीको नाडीको अस्वाभाविक घुमाइका कारण उनको बल गर्ने तरिका शंकास्पद लाग्ने गर्दथ्यो ।

पछि मात्र  मुरलीको नाडी बढी र अस्वाभाविक घुम्ने गर्दथ्यो भने उनले कुहिनो सीधा गर्न नमिल्ने कुरा पत्ता लाग्यो । शरीरमा भएको यो कमी नै उनका लागि वरदान साबित भयो र उनी विश्वविख्यात खेलाडी बन्न सफल भए ।

उनले यस उपलब्धि हासिल गर्ने क्रममा थुप्रै अन्य किर्तिमान पनि बनाएका छन् ।

सर्वाधिक टेस्ट विकेट:

उनले टेस्ट क्रिकेटमा सर्वाधिक ८०० विकेट लिएर अजेय किर्तिमान कायम गरेका छन् । यो कीर्तिमान उनले १३३ टेस्ट खेलेर हासिल गरेका हुन् । तर अचम्मको कुरा के छ भने २०१० मा नै विश्व क्रिकेटबाट सन्यास लिइसकेका मुरलीधरनको यो रेकर्ड तोड्नु त परे जाओस यसको नजिक पनि कुनै क्रिकेट खेलाडी पुग्न सकेको छैन ।

टेस्ट क्रिकेटमा दोस्राे सर्वाधिक विकेट लिने अस्ट्रेलियाली बलर शेन वार्नले २००७ मै क्रिकेट छोडिसकेका छन् । उनको नाममा १४५ खेलमा ७०८ विकेट रहेको छ भने तेस्रो स्थानमा रहेका भारतीय पूर्व कप्तान अनिल कुम्बलेले ६१९ विकेट लिएका छन् भने उनले पनि २००८ मै क्रिकेट छोडिसकेका छन् ।

हाल सक्रिय क्रिकेटरहरू मध्ये इङल्याण्डका जेम्स एण्डरसनको नाममा ५७५ विकेट छन् तर १४९ टेस्ट खेलिसकेका उनका लागि मुरलीको नजिक पुग्नु पनि सम्भव लाग्दैन ।

सर्वाधिक एकदिवसीय विकेट

मुरलीको नाउँमा सर्वाधिक एकदिवसीय विकेट लिने रेकर्ड पनि रहेको छ । उनले एकदिवसीय क्रिकेटमा ३५० खेलमा ५३४ विकेट लिएका छन् । यस सूचिको दोस्रो स्थानमा ३५६ खेलमा ५०२ विकेटका साथ पाकिस्तानका पूर्व कप्तान वसीम अक्रम रहेका छन् ।

उनको यो रेकर्ड पनि केही वर्षका लागि दुर्भेद्य नै देखिन्छ किन भने अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा १३ जनाले मात्रै ३०० माथि विकेट लिएका छन् र ती सबैले खेलबाट सन्यास लिइसकेका छन् ।

सर्वाधिक अन्तर्राष्ट्रिय विकेट

मुरलीधरनले टेस्ट, एकदिवसीय र टी-ट्वेन्टी गरेर १३४७ विकेट झारेका छन् । यसमा ८०० टेस्ट विकेट, ५३४ एकदिवसीय विकेट र १३ टी-ट्वेन्टी विकेट सामेल रहेका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार भन्दा बढी विकेट लिने दोस्रा खेलाडी हुन् । उनी भन्दा अघि यो रेकर्ड अस्ट्रेलियाली खेलाडी शेन वार्नको नाममा रहेको थियो । उनले सबै फर्म्याटमा गरेर एक हजार एक विकेट लिएका छन् ।

सर्वाधिक बढी पटक १० र ५ विकेट

मुरलीले आफ्नो खेल सक्रिय जीवनमा टेस्ट क्रिकेटमा २२ पटक एकै खेलमा १० विकेट र ६७ पटक एकै पारीमा ५ विकेट लिएका छन् । उनको नामको यो रेकर्ड पनि हाललाई दुर्लभ नै छ ।

सानोमा फास्ट बलिङ गर्न रुचाउने मुरलीलाई १४ वर्षको उमेरमा उनको स्कुलका खेल प्रशिक्षकले स्पिन बलिङ गर्न सुझाव दिएका थिए ।

पहिलो खेलमै ३ विकेट

मुरलीधरनले २८ अगस्ट १९९२ मा पहिलो पटक अस्ट्रेलियाविरुद्ध टेस्ट खेल्न सुरु गरेका थिए । उनले पहिलो खेलमा नै तीन विकेट लिएर राष्ट्रिय टीममा आफ्नो छनौट सही भएको प्रमाणित गरिदिए । त्यसपछि उनको उदय विश्व क्रिकेटकै महान खेलाडीका रूपमा भएको कुराको इतिहास नियो साक्षी छ ।

नाटकीय रूपमा ८०० विकेट

मुरलीधरनले २०११० मा भारतविरुद्धको टेस्ट खेलेर टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका थिए र करिअरकै अन्तिम खेल खेल्नु पहिला उनको नाममा ७९२ टेस्ट विकेट थिए । उनले यसै खेलमा भारतका ८ ब्याट्सम्यानहरूलाई आउट गरे र यो अभूतपूर्व रेकर्ड बनाए ।

तर यो रेकर्ड बनाउँदाको क्षण पनि कम रोचक थिएन । उनले पहिलो पारीमा ५ जना भारतीय खेलाडीलाई आउट गरे । दोस्रो पारीमा उनले अन्तिम दिनको अन्तिम ओभरको बलिङ गर्दै गर्दासम्म दुई विकेट लिइसकेका थिए र उनको खातामा ७९९ विकेट भइसकेको थियो ।

भारतीय ब्याट्सम्यान जसरी पनि यो बल बचेर खेल्ने र मुरलीलाई ८०० विकेटको लक्षबाट रोक्ने रणनीतिमा थिए । तर भारतको टीमको अन्तिम जोडी मैदानमा संघर्ष गरिराखेको थियो ।

अन्तिम बल उनले भारतीय खेलाडी प्रज्ञान ओझालाई गरे र ओझा स्लिपमा जयवर्धनेद्वारा क्याच गरिए र इतिहास बन्यो ।

इङल्याण्डविरुद्ध अभूतपूर्व प्रदर्शन

हुन त मुरलीले सबै टीमविरुद्ध उत्कृष्ट प्रदर्शन नै गरे तर इङल्याण्डविरुद्ध उनको प्रदर्शन भने झनै लोभलाग्दो रहेको छ । उनले इङल्याण्डविरुद्ध जम्मा १२ टेस्ट खेले तर यस क्रममा उनले ११२ ब्याट्सम्यानहरूलाई आउट गरे । यति थोरै टेस्टमा कुनै टीमका सय बढी ब्याट्सम्यानलाई प्याभेलियन फर्काएको यो एक मात्र उदाहरण हो ।

 

कमेन्ट गर्नुहोस्