कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

काठमाडौं । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरिएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई बर्खास्त गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए।

मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो। रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्ने बुढाथोकीले जानकारी दिए।

उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो।

कमेन्ट गर्नुहोस्