Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दोरम्बा अब युद्ध पर्यटकीय क्षेत्र बन्ने

रामेछापका मैनकुमार मोक्तान ‘मदन’ युद्धकालमा तत्कालीन माओवादीको रामेछाप जिल्ला सेक्रेटरी थिए । त्यही बेला दोरम्बा हत्याकाण्ड भयो । उनी भाग्यले बाँचे ! त्यो २०६० साउन ३२ गतेको कुरा थियो । जतिबेला माओवादी र राज्यबीच शान्तिवार्ता चलिरहेको थियो । त्यही बेला दोरम्बामा पार्टीको बैठक बसेको थियो । सेनाले बैठक बसेकै घरमा घेरा हाली २१ जनाको ज्यान लियो । तब दाङको हापुरेमा चलिरहेको शान्तिवार्ता भंग भयो । र, मदनलाई पार्टीले जनमुक्ति सेनाको कम्पनी कमिसार बनायो । उनी पुनः २०६४ पछि रामेछाप सेक्रेटरी बने । माओवादी र एमाले एकतापछि बनेको नेकपामा पनि जिल्ला अध्यक्षको जिम्मेवारीमा छन् ।

उनै दोरम्बा हत्याकाण्डका ज्युँदा शहिद मदनसँग यही साउन ३२ गते पर्ने १६ औं दोरम्वा स्मृति दिवसको अवसरमा एसकाठमाडौंले दोरम्बा घटनाको स्मरणबारे गरेको कुराकानी उनकै शैलीमा ।

दशवर्षे जनयुद्धको मुख्य उद्देश्य गरिने वर्गको राज्यसत्ता स्थापित गर्ने थियो । तर, त्यसले पूर्णता प्राप्त गन सकेन । थुप्रै घुम्ती मोडहरु पार गर्दै, हजारौं बलिदानबाट हामी अहिलेको ठाउँमा आइपुगेका छौं । जनयुद्ध यति तीव्रतामा थियो कि शहिद नभएको कुनै गाउँ रहेन । यो सिंगो देशले जडेको युद्ध थियो ।

अहिले हामी १६औं दोरम्बा स्मृति दिवस मनाउँदै छौं । यो कार्यक्रम दोरम्बामै हुँदैछ । र, नेकपाका अध्यक्ष कमरेड प्रचण्ड नै जाँदै हुनुहुन्छ । यो हाम्रो लागि गौरवको पक्ष पनि हो । अध्यक्ष आफैं घटनास्थलमै पुगेर हेर्नु भएपछि त्यहाँको वस्तुस्थिति नजिकबाट अनुभव गर्न पाउनुहुन्छ । यो कार्यक्रमले दोरम्बा हत्याकाण्डलाई नयाँ उचाइमा पुर्योउछ भन्ने मलाई लागेको छ ।

गरिव निमुखाहरुको सत्ता स्थापना गर्न हिजो हामीले युद्ध लड्नुपर्ने परिस्थिति थियो । तर, अहिले त्या स्थिति छैन् । अहिले हामीले सरकार प्राप्त गरिसकेका छौं । नेकपाको आफ्नै सरकार छ । यतिवेला नेकपाका नेता कार्यकर्ता चाह्यो भने, सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले चाह्यो भने हामीले हिज क्रान्तिको चरणमा देखेका सपनाहरु पुरा गर्न सक्छौं । तर अहिले पार्टी र नेकपा नेतृत्वको सरकार जुन ढंगले अघि बढेको छ, यसरी चाहीँ अगाडि छलाङ मार्न सकिंदैन ।

नेकपा बन्नुको उद्देश्य पनि नेपालमा समाजवादी राज्य व्यवस्था स्थापित गर्नु थियो । नेपालमा समाजवादी व्यवस्था गर्ने हो भने दुईवटा कुरा गर्नु आवश्यक छ । पहिलो, नेकपाभित्र जुन खालको आन्तरिक उल्जनहरु छन् त्यसको सुक्ष्म उपचार गर्नुपर्छ । पार्टी शुद्धीकरणको कुरा पार्टी रुपान्तरणका कुरामा ध्यान दिनुपर्छ ।

दोस्रो, सरकारको सन्दर्भमा पनि त्यहाँ रहेका मन्त्रीहरुले कसरी काम गिर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। कसरी अग्रगामी काम गर्ने विकासको मोडलहरु के हुने, के सोच राख्ने, सरकारको सिंगो गतिविधिलाई कसरी समाजवाद उन्मुख बनाउने भन्ने बारे सोन्च आवश्यक छ । यदि यसरी सोचिएन भन हामीले देखेको सपना पुरा गर्न सकिदैन । नेकपा बन्नुको सार्थकता पनि रहँदैन । त्यसकारण मन्त्रीहरुले अब म काम गर्ने, के सोच राख्ने भन्ने स्पष्ट खाका तयार गर्ने आवश्यक छ । त्यो खाका समाजवादी व्यवस्थासम्म जोडिएका हुनुपर्छ ।

सरकारबाट अहिले पनि छिटफुट काम त भएका छन् । तर समाजवादमा जान यतिले केही हुनेवाला छैन् । सरकार र पार्टीको स्पष्ट खाका नभए त समाजवाद आउँदैन । समाजवादी व्यवस्था नआएसम्म दोरम्बा भएको बलिदान सार्थक हुँदैन् । जनयुद्धको सिंगो बलिदान सार्थक हुँदैन ।

हामी दोरम्बालाई विश्व युद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्न खोजिरहेका छौं । यसकारण पनि कि, यो युद्धको नियम विपरित भएको भयंकर नरसंहार थियो । कहालिलाग्दो हत्याकाण्ड थियो । पार्टीले पनि यस क्षेत्रलाई युद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न खोजेको छ । घटनास्थलमा शहिद स्मारक बनेको छ । २१ जनै शहिदहरुको शालिक अनावरण यहि स्मृति दिवसका दिन अध्यक्ष प्रचण्डद्वारा गरिँदै छ ।

त्यो दिन सम्झिँदा छटपट हुन्छ

दोरम्बा हत्याकाण्ड जनयुद्धका समयमा भएको एउटा दर्दनाक घटना थियो । सम्झिँदा छटपट हुन्छ । त्यो घटनामा सिनियर नेता पुष्पदेखि सामान्य कार्यकर्ता गरी २१ जनाको बलिदान भयो । त्यो बलिदानको महत्व मलाई गहिरो गरी बोध हुन्छ । अरूलाई सामान्य पनि लाग्ला । साथीहरूको बलिदान समाजवादी क्रान्तिकै लागि थियो । त्यसकारण उहाँहरूको सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारीबाट भाग्न मलाई छुट छैन ।

तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबीच दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको थियो । हामीलाई सेनाले यतिसम्म गर्ला भन्ने लागेकै थिएन । त्यसदिन हामी एउटा घरमा बैठक बसिरहेका थियौं । हुस्सु लागेको थियो । सिमसिम पानी परिरहेको थियो । अलि टाढासम्म देख्न नसकिने अवस्था थियो । हामी अलिक बढी विश्वस्त भएका कारण पनि त्यो घटनामा धेरै क्षति बेहोर्नुपर्यो । हामी सचेत हुन सकेको भए सायद त्यो घटना हुँदैनथ्यो होला । साथीहरूलाई के लाग्यो भने गिरफ्तार गरिसकेपछि पनि बढी भए जेल लैजाला भन्ने विश्वास भयो । जसका कारण पनि क्षति बढी भयो । अर्को कारण हामीसँग आफ्नै सञ्चार सेट थियो । त्यसको जिम्मेवारी लिएर बसेको साथी अन्तै गएको देखियो । जसका कारण सेना आएको थाहा पाउन सकेनौं । घरबाहिर रहनुभएका १०–१२ जना साथी बाँच्नुभयो । घरभित्र भएका २३ जनामध्ये म र ललितपुरको हरि दाहाल बाँच्न सफल भयौं ।

हामी बसेको घरलाई तीनतिरबाट सेनाले घेरा हालेको थियो । घर एल आकारको थियो । मभित्र थिएँ । एकातर्फ निकास थियो । दुई तलामाथि बुइँगलको झ्यालबाट हाम फालेर भाग्न सफल भएँ । के गर्ने भनेर कसैसँग सल्लाह गर्ने समय थिएन । हरि दाहालचाहिँ तल छिँडीबाट सेनालाई धकेलेर भाग्नुभएछ । यसरी हामी दुई भाइ बाँच्न सफल भयौं । हरिजीकी जीवनसाथी ललितासहित २१ जनालाई दोरम्बाको डाँडाँकटेरीमा लगेर तत्कालीन शाही सेनाले गोली ठोकेर मार्यो । त्यस बेला म भर्खरै रामेछाप जिल्ला सेक्रेटरी भएको थिएँ । हरि दाहाल इन्चार्ज हुनुहुन्थ्यो ।

त्यो हत्याकाण्ड तत्कालिन शाहि सेनाका मेजर राममणी पोखरेलको नेतृत्वमा भएको थियो । अहिलेसम्म कारबाहीको दायरामा ल्याइएको छैन् । कारबाही भयो भन्ने हामीले कतै सुनेका छैनौं । यो शान्ति वार्ताको समयमा घटाइएको घटना भएकाले उनलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ । युद्धको समयमा भएको भए कुरा अर्कै हुन्थ्यो । यो घटनाको अन्तर्राष्ट्रिय रुपमा पनि चर्चापरिचर्चा भएको छ । अहिले उनी विदेशतिर भागेर बसेका छन् रे भन्ने सुनेको छु ।

अहिलेको व्यवस्था यस्ता थुप्रै बलिदानहरुको योगमा आएको हो । तर नेकपा र नेकपाको सरकारले शहिद, वेपत्ता, घाइते र अपांगहरुको खोजखबर समेत गरेको छैन् । उहाँहरु सबैको खोजखवर हुनुपर्छ र उचित न्याय दिइनुपर्छ । उहाँहरुमाथिको अन्याय इतिहासमाथिकै अन्याय हुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: