एनआइसी एशिया बैंकको छलाङ, एकवर्षमा १२९ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । एनआईसी एशिया बैंकले पछिल्लो वर्ष छलाङ मारेको छ । बैंकले आव २०७५–७६ मा आफ्नो नाफा १ सय २९ प्रतिशतले बढाएको छ ।

शुक्रबार प्रकाशन गरेको बैंकको वार्षिक प्रतिवेदन अनुसार गतवर्ष १ अर्ब ७२ करोड नाफा बढाएर ३ अर्ब ५ करोड खुद नाफा गरेको छ । आव २०७४–७५ मा बैंकको खुद नाफा १ अर्ब ३३ करोड थियो ।

बैंकले गत वर्षमा कुल आम्दानी ७७ प्रतिशत अर्थात् ४ अर्ब १५ करोडले बढाएर ९ अर्ब ५१ करोड पुर्‍याएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरि ६ अर्ब ६९ करोड पुर्‍याएको छ । बैंकले चालु आवको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् २ अर्ब ६६ करोडले वृद्धि गरी ४ अर्ब ५८ करोड बनाएको छ ।

बैंकले गत आवमा २७ प्रतिशत अर्थात् ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार २१७ अर्ब ७० करोड पुर्‍याएको छ । जस अन्तर्गत कुल कर्जातर्फ वर्ष भरिमा २९ अर्ब ५४ करोड बढाएर १ खर्ब ५० करोड पुर्‍याएको छ । यो अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

यस्तै बैंकले निक्षेप संकलन १९ प्रतिशत अर्थात् २९ अर्ब ३६ करोडको बढाएर १ खर्ब ८० अर्ब ५८ करोड पुर्‍याउन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ ।

कमेन्ट गर्नुहोस्