उपत्यकामा गाईजात्राको रौनक (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा गाईजात्रा पर्व मनाइदै छ । भदौ कृष्ण प्रतिपदाका दिन मनाइने गाइजात्राको सुरुवात मल्लकालमा भएको हो । शोकमग्न बनेकी रानी अनन्तप्रियाको मन बहलाउन जति प्रयास गर्दा पनि नसकेपछि राजा प्रताप मल्लले ‘हाम्रामात्र होइन, दुनियाँका सन्तान मरेका हुन्छन्’ भन्ने देखाउन ‘गाईजात्रा’ पर्वको आरम्भ गरेका हुन् ।

सोही दिनको सम्झनामा आज गाईजात्रा मनाइँदै छ । काठमाडौंको बसन्तपुरमा पनि यो जात्रा धुमधामका साथ मनाइएको छ। वर्षदिनभर दिवंगत भएकाका आफन्तजन बसन्तपुरमा जम्मा भएका थिए । गाईजात्रामा सहभागीलाई ३६५ प्रकारका फलफूल, परिकार, मिठाई, दूधदही दान गरेर दिवंगत आफन्तको स्मृति गरिन्छ ।

पशुपति क्षेत्रमा मृतकमध्ये ज्येष्ठको घरबाट गाईजात्राको झाँकीसहित लाखे नाचसमेत निकाल्ने प्रचलन छ । काठमाडौंबाहेक धनकुटा, नुवाकोट, बाग्लुङ, स्याङ्जा लगायतका नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा पनि गाईजात्रा मनाइँदै आएको छ । भक्तपुरमा भने गाईजात्रा आठ दिनसम्म मनाइन्छ । यहाँ जात्राको छुट्टै रौनक हुने गर्छ ।

गाईजात्राका अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हास्य व्यंग्य प्रहसनको आयोजना गरिएको छ । आज काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

उपत्यकामा गाईजात्राको यस्तो छ रौनक हेर्नुहोस्-

 

कमेन्ट गर्नुहोस्