मेगा बैंकको मुनाफा ९२ प्रतिशतले वृद्धि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आव २०७५–७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । अघिल्लो आवमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको भन्दै बैंकले यस आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्धि गर्न सफल भएको पनि बतायो ।

बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्धि हो । बैंकले वितरण योग्य मुनाफामा भने उल्लेख्य वृद्धि गरेको भन्दै बैकले अघिल्लो वर्षको तुलनामा यसवर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको जनाएको छ ।

असार मसान्त २०७५ को तुलनामा २०७६ असार मसान्तमा बैंकको कुल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि वाणिज्य बैंकहरूमध्ये कै उच्चतम वृद्धि रहेको छ ।

त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि भएको पनि बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्