उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

एजेन्सीः  उत्तर कोरियाले शुक्रवार दुईवटा प्रोजेक्टाइल परीक्षण गरेको छ । हालैका दिनमा प्योङयाङले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ ।

दक्षिण कोरियाली सेनाले ती प्रोजेक्टाइलहरू तोङचोन शहरबाट प्रक्षेपण गरिएको र सी अफ जापानमा विसर्जन गरिएको बताएको छ ।

एक महिनामा गरिएको यो छैठौं परीक्षण हो । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासविरुद्ध चेतावनी दिन हतियार प्रक्षेपण गरेको उत्तर कोरियाका नेता किम जोङ–उनले बताएका छन् ।

युद्धाभ्यासले उत्तर कोरियालाई जहिले पनि चिढ्याउने गरेको छ । आफूमाति आक्रमण गर्नका लागि यो अभ्यास गरिएको उसको भनाइ छ ।

आणविक कूटनीतिमा ढिलाइ भइरहेकोले वाशिङटन र सउललाई दबाब दिन उत्तर कोरियाले समुद्रमा पुग्ने गरी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

यो प्रोजेक्टाइल कस्तो किसिमको हो भन्ने खुलाइएको छैन तर उत्तर कोरियाका हतियारहरूको स्तर बढ्दै गएको विश्लेषकहरूको भनाइ छ ।

कमेन्ट गर्नुहोस्