रवि लामिछानेसहित ३ जनालाई हिरासतमै राखेर अनुसन्धान गर्ने कि नगर्नेमा बहस

चितवनः  पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको नियन्त्रणमा रहेका सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गर्ने भन्ने विषयमा अदालतमा बहस भएको छ ।

बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएका लामिछानेलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको छ । घटनाका बारेमा कसरी अनुसन्धान अघि बढाउने भन्ने विषयमा जिल्ला अदालत चितवनमा विभिन्न ४ वटा विकल्पमा बहस भएको छ ।

लामिछानेको तर्फबाट बहस गर्नुभएका वकिल सुनिल पोखरेलसहितको टोलीले पुडासैनीले आत्महत्या गर्नुमा रवि लामिछानेले दुरुत्साहन गरेको प्रमाण नरहेकाले थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको छ ।

एउटा भिडियोको आधारमा लामिछाने दोषी नै हो भन्न नसकिने अवस्था रहेको पनि उनीहरुको दाबी छ । तर सरकारी वकिल कार्यालयले भने आरोपित लामिछाने भाग्न सक्ने भएकाले चितवन जिल्ला नछाड्ने गरी नागरिकता तथा राहदानी धरौटी राख्नु पर्ने माग गरेको छ । सरकारी वकिलको कार्यालयले विभिन्न ४ वटा विकल्प पनि दिएको छ ।

लामिछानेलाई थुनामा नराखी घटनाको अनुसन्धान गर्ने, नागरिकता तथा राहदानी धरौटी राखेर थुनामुक्त गर्ने, चितवन छाड्न नदिने वा हरेक दिन जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुपर्ने जस्ता विकल्प अगाडि सारेको छ । अहिले थुनछेक बहस सकिएको र फैसलाका जिल्ला अदालतका मुख्य न्यायाधीशकोमा पठाइएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले थुनुवा पूर्जी दिइसकेको र म्याद थपको माग गर्दै लामिछानेलाई अदालत पुर्याएको थियो ।

आत्महत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसँगै उनका सहकर्मी युवराज कँडेल तथा अस्मिता कार्कीलाई बिहीबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगेको थियो । उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्