अक्षयको नयाँ फिल्म ‘मिशन मंगल’ले बनायो यस्तो रेकर्ड

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार अभिनित ‘मिशन मंगल’ उनको करिअरमै सर्वाधिक पहिलो दिनको कमाई गर्ने बलिउड फिल्म बन्न पुगेको छ ।

भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धनको दिनको बिदालाई लक्षित गर्दै बिहिबार नै रिलिज गरिएको उक्त चलचित्रले भारतभरिबाट पहिलो दिनमै २९ करोड १६ लाख कमाएको छ ।

फिल्ममा अक्षय कुमारका अतिरिक्त विद्या बालन, सोनाक्षी सिन्हा, ताप्सी पन्नूको अभिनय रहेको छ । यो कमाई बलिउड व्यापारका जानकारहरूले अनुमान गरेभन्दा बढी हो ।

स्वतन्त्रता दिवसको बिदा बलिउड चलचित्रका लागि निकै फाप्ने भए पनि ‘मिशन मंगल’ जोन अब्राहम अभिनित ‘बाट्ला हाउस’सँग बक्स अफिसमा बाझेपछि यसको कमाई प्रभावित हुने अनुमान गरिएको थियो ।

यो अक्षय कुमारको करिअरको सबैभन्दा ठूलो ओनपर फिल्म समेत बनेको छ । साथै पहिलो दिन ओपनिङको मामिलामा यो फिल्म सलमान खान अभिनित ‘भारत’पछि वर्षको दोस्रो सबैभन्दा ठूलो बलिउड फिल्म पनि बन्न सफल भएको छ । भारतले पहिलो दिनमा ४२ करोड ३० लाख भारतीय रुपैयाँ कमाएको थियो ।

गत वर्षको स्वतन्त्रता दिवसको मौका अक्षयले फिल्म ‘गोल्ड’ रिलिज गराएका थिए । उक्त फिल्मले पहिलो दिन २५ करोड २५ लाखको व्यापार गरेको थियो । यस वर्षको सुरुवातमा प्रदर्शनमा आएको उनको अर्को फिल्म ‘केसरी’ ले २१ करोड ५० लाखको ओपनिङ गरेको थियो ।

अक्षय आजभोली ‘देशभक्ति’मा आधारित फिल्महरूमा बढी देखिन लागेका छन् र यी फिल्महरूले निकै राम्रो व्यापार पनि गर्दै आइरहेका छन् ।

‘मिशन मंगल’ का निर्देशक जगन शक्‍त‍ि हुन् । फिल्ममा कीर्ति कुल्‍हारी, नित्‍या मेनन र शरमन जोशीको पनि प्रमुख भूमिका छ । यो फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् ।

अक्षय कुमार र विद्या बालनको अभिनयको सर्वत्र तारिफ भइरहेको छ । फिल्मको गीत, एडिटिङ, सिनेमाटोग्राफी र ग्राफिक्स उम्दा छ । फर्स्ट हाफ निकै स्लो भए पनि फिल्मको सेकेण्ड हाफ बलियो छ ।

नेपालमा बिहिबारदेखि ‘हजार जुनीसम्म’ रिलिज भएको छ । ‘मिशन मंगल’ले यस चलचित्रको व्यापारलाई असर गर्न सक्ने आकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस्