Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टेलिभिजनमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुर्व्यवहार गरेकोप्रति महासंघको अपत्ति

काठमाडौंः  नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको संवेदनशीलता ख्याल नगरी प्रहरीले जबर्जस्ती रूपमा न्युज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुर्व्यवहार गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रहरीले बिहीबार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई पक्रिएको थियो ।

प्रहरीले आफ्नो सीमा, मर्यादा र अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनमा बलजफ्ती प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुर्व्यवहार आफैंमा दुःखद एवं निन्दनीय भएको महासंघको टिप्पणी छ । ‘प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका साथै संविधानविपरीत भएको महासंघ ठान्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार तथा सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा कानुनी रूपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्नुपर्ने आफ्नो धारणा सार्वजनिक गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: