प्रदेश २ का छोरी जन्मिँदै लखपतिः मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशअन्तर्गतका आठ जिल्लामा १ माघदेखि जन्मिएका छोरीहरू जन्मिँदै लखपति भएको बताएका छन् । लहान नगरपालिका १९ छरापट्टि गाउँमा बिहीबार साँझ जामिया वरियतुल बनात (कन्या मदर्सा विद्यालय) उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

समाजमा छोरीलाई हेर्ने दृष्टिकोण बदल्न प्रदेश सरकारले छोरी जन्मिएलगत्तै लखपति बनाउने योजना कार्यान्वयन गरेको उनले स्पष्ट पारे । ‘जसरी आधाभन्दा बढी हिस्सा ओगटेर पनि विभेदमा परेका महिलालाई मूलधारमा नल्याए समाज फेरिँदैन, त्यसैगरी समाज परिवर्तनविना विकास र समृद्धि सम्भव छैन,’ मुख्यमन्त्री राउतले भने, ‘त्यसैले महिलालाई समानताको हक दिलाउन प्रदेश सरकारले छोरीको बिमा, बोटी पढाऊ– बेटी बचाऊ अभियान चलाएको हो ।’

१ माघ ०७५ यता जन्मिएका पाँच हजार छोरीहरूको बिमा गरिसकिएको उनले जानकारी दिए । मुख्यमन्त्री राउतले सामुदायिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरीहरूलाई चालू आर्थिक वर्ष ०७६र०७७ मा १४ हजार साइकल वितरण गर्ने योजना रहेको पनि जानकारी दिए । ‘अति विपन्न दलित मुस्लिम छात्राहरूलाई मासिक पाँच सय पढाइ खर्च र आवतजावतबापत तीय सय रुपैयाँ थप रकम दिइने योजना छ,’ उनले ‘त्यसका अतिरिक्त प्रदेशअन्तर्गतका हरेक जिल्ला सदरमुकामममा लोक सेवा तयारी कक्षासमेत सञ्चालन गरिनेछ ।’

प्रदेश सरकारले प्रदेश लोकसेवा विधेयक पारित भइसकेको चर्चा गर्दै मुख्यमन्त्री राउतले त्यसमा महिलालाई ५० प्रतिशत आरक्षण रहेको बताए । प्रदेश संसद्मा विचाराधीन प्रदेश प्रहरी विधेयकमा पनि महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था रहेको उल्लेख गरे । नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्