विदेशी नागरिकसँग नक्कली डलर भेटिएपछि….

काठमाडौं । इजरायली नागरिक डागन बेन्जामिन २ सय नक्कली डलरसहित पक्राउ परेका छन्। उनी मंगलबार स्पेनबाट नेपाल आएका थिए। भिसा शुल्कबापत विमानस्थलमा दस्तुर बुझाउँदा तिरेको डलर नक्कली परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

वाणिज्य बैंकको काउन्टरमा सुरुमा उनले सय डलर बुझाएका थिए। त्यो नक्कली साबित भयो। दोस्रो पटक तिरेको सय डलर पनि नक्कली परेपछि विमानस्थलको अध्यागमन कार्यालयले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो। बेन्जामिन इजरायली सेनाको भूतपूर्व क्याप्टेनसमेत हुन्। उनको परिवार स्पेनमा बस्दै आएको छ। उनकी वृद्धा आमाको हेरचाहमा दुई नेपाली युवती खटिएका छन्। बेन्जामिनले ती युवती र आमाले कर गरेपछि नेपाल घुम्न आएको बयान दिएका छन्। युवतीका परिवारसमेत भेट्ने योजनामा उनी थिए।

७ हजार डलर बोकेर उनी नेपाल आएका थिए। त्यसमध्ये २ सय डलर मात्रै नक्कली भेटिएको थियो। उनले कम्बोडिया घुम्न गएका बेला बैंकमा डलर सटही गरेका थिए। महानगरीय प्रहरी काठमाडौंको हिरासतमा रहेका उनले आफू अनाहकमा फसेको बयान दिएका छन्। परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा बेन्जामिन डलर तस्करी गर्ने मनसायले नेपाल आएका थिएनन्।

‘७ हजारको गड्डीमा कसरी २ सय डलर मात्रै नक्कली पर्यो भनेर बेन्जामिन आफैं आश्चर्यमा छन्’, उनले भने, ‘उनी पहिलो पटक नेपाल आएको देखिन्छ। डलर तस्करी गर्ने मनसायले नेपाल आएको देखिँदैन।’ प्रहरीले किर्ते मुद्रासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्