वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौं ।  वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीया अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नै निवास डल्लुमा निधन हो

कलाकार अधिकारीको निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए। थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी अधिकारी लामो समयदेखि दमको बिरामी थिइन् ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारी सानै उमेरदेखि कलाकारिता क्षेत्रमा संलग्न थिइन्। उनको ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो।

उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरूमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् l

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् । उनका श्रीमान् कृष्ण अधिकारी पनि कलाकारिता क्षेत्रमै संलग्न थिए। अधिकारीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

कमेन्ट गर्नुहोस्