जेलबाटै माईला लामाले लेखे यस्ताे पत्र

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामा अहिले जेलमा छन् । उनलाई साउन महिनाको पहिलो साता काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको थियो । यसबीच लामाले जेलबाटै एक पत्र लेखेका छन् हेर्नुस् उनको पत्र–

मेरा आदरणीय र आत्मीय प्रियजनहरू
न्यानो अभिवादन !

मेरो गिरफ्तारी, जेलजीवन, रिहाइको अपिल र मेरो स्वास्थ्यप्रति गम्भीर चासो, चिन्ता, ऐक्यबद्धता, वर्गप्रेम, सहानुभूति सामाजिक सञ्जाल, विभिन्न अखबारहरूमार्फत व्यक्त गर्नुहुने विभिन्न पेसा र राजनीतिक दल सम्बद्ध मेरा आदरणीय, आत्मीय, सम्पूर्ण प्रियजनहरूप्रति फलामे ढोकाभित्रको बन्द पर्खालको बन्दी जीवनका तर्फबाट हार्दिक न्यानो अभिवादन पेस गर्दै हृदयको गहिराइदेखि नमन गर्न चाहन्छु जुन शुभेच्छा र समाचारहरूले मलाई निरन्तर ऊर्जा दिएको छ । आशावादी बनाएको छ र अघि बढ्न प्रेरित गरिरहेको छ ।

मेरा कयौँ अग्रज कमरेड र मित्र एवम् आफन्तहरूले जेलमै भेटेर ऐक्यबद्धता दर्साउनुभयो । हो, प्रेमको महासागरमा डुबुल्की मारेर कयौँ कमरेड र प्रियजनहरूले साहित्य र पत्रमार्फत पनि भावना व्यक्त गर्नुभयो । म यहाँहरूको यो गुनको मूल्य सदैव राष्ट्र र जनताको सेवामा समर्पित रहेर चुक्ता गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

प्रिय कमरेड एवम् मित्रहरू,
हामीले त्यस्तो के अपराध गर्यौं र जेलमा थुन्न बाध्य भएको छ वर्तमान सरकार? हामीले व्यक्तिगत रूपमा त्यस्तो कुनै सुखसुविधाको माग पनि त गरेका थिएनाै जुन सरकारले पूरा गर्न नसकेर जेल पठायो । देशको खम्बा भनिएका युवा आज संसारका गल्लीमा भौँतारिदैँ सस्तोमा श्रम बेच्न बाध्य छन् र दाससरहको जीवन बाँचिरहेका छन् । नेपाली छोरीहरू अफ्रिकी महादेश केन्यासम्म बेचिन पुगेका छन् । हामीले भन्यौँ– राष्ट्रिय अर्थतन्त्रको विकास गरौँ ।

उद्योग, कलकारखाना खोलेर देशमै रोजगार सिर्जना गरौँ । राष्ट्रिय पुँजीको संरक्षण, प्रवद्र्धन र विकास गरौँ । के यो कुनै अपराध हो र? भ्रष्टाचारले थिलथिलो र बर्बाद भएको हाम्रो मुलुकलाई बचाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरौँ, भ्रष्टाचार गरेर जम्मा गरिएको सम्पत्ति राष्ट्रियकरण गरौँ र त्यो रकम राष्ट्रको उन्नतिमा लगाऔँ । के यो हिंसा भयो र राज्य हामीलाई बन्दी बनाउन बाध्य बनोस् ।

पछिल्लोपटक हामीले एनसेलमा बम हान्यौँ र मान्छे मार्यौं भन्ने सरकारको आरोप छ । हामीले भन्यौँ– एनसेलले नेपालमा कारोबार गर्ने हो भने नेपालको प्रचलित कानुन मातहत बस्नुपर्छ र नेपाललाई तिर्न बाँकी अर्बौं रकम तिर्नुपर्छ । हाम्रो यो आह्वानमा बल पुग्ने गरी सर्वोच्च अदालतले पनि आदेश दिएको छ एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने रकम बुझाउनु भनेर ।

हाम्रो देशमा व्यापार गर्ने, हामीबाटै सेवा शुल्क भनेर पैसा असुल्ने अनि कर नतिर्ने कुरा कसरी मान्न सकिन्छ? अनि नेपाली जनताले एनसेल टावरमा बम नहानेर पुष्पगुच्छा चढाउने त? स्वाभिमानी नेपाली मनले मान्छ त्यसो गर्न? त्यसैले ‘नो ट्याक्स नो एनसेल ।’ बरु नेपाल सरकारले जनतामा सेयर बिक्री गर । एनटीसी २ बनाऊ । पुगेन एनटीसी ३ बनाऊ । जनता साथमा छन् ।

जहाँसम्म फागुन १० को घटनामा सिंहबहादुर गुरुङजीको मृत्युको सन्दर्भ छ, त्यो एकदमै कारुणिक, पीडादायी र दुःखद् दुर्घटना हो । मैले पाएको जानकारीअनुसार मानवीय क्षति पुर्याउने पार्टीको योजना थिएन । मलाई यही घटनासँग जोडेर जेल पठाइएको छ । जब कि म त्यो समयमा नवलपुर जिल्लाको पहाडी गाउँ बुङ्दीकालिका गाउँपालिकाका गाउँहरूमा क्षितिज परिवार र सामना परिवारका कलाकारहरूसहित सङ्गठनात्मक अभियानमा थिएँ उदयको नाउँबाट ।

यस विषयमा थप अध्ययन र अनुसन्धान गर्न त्यहाँका पालिकाप्रमुख, वडा अध्यक्ष र प्रहरी अधिकृतसँग पनि सूचना लिन सक्छ । गुरुङ बन्धुको निधन निधन एकदमै अकल्पनीय र अनपेक्षित घटना हो र यस सवालमा म पार्टीको एक जिम्मेवार कार्यकर्ता भएकाले यदि गुरुङ परिवारले हदैसम्मको सजाय माग गर्नुहुन्छ भने यो पङ्क्तिकार खुलामञ्चमा फाँसीको तख्तामा लट्किन पनि तयार छ । किनकि नवलपुरको पाखामा जनतासँग नाच्दैगाउँदै गर्दा जब मैले त्यो भयङ्कर दुःखदायी घटना सुनेँ, मेरो मुटु नराम्ररी निचोरिएको थियो ।

मन शोकाकुल बनेको थियो भने भने उहाँको परिवारलाई त्यसले कति गहिरो पीडा दियो, म त्यसको गहिराइ बुझ्दछु । यहाँ हाम्रा क्षमायाचनाले उहाँको मनमा शान्ति छाउँदैन । त्यसैले मैले फाँसीको कुरा गरेको हुँ ।

माफ गर्नुहोला पत्र लामो भएकोमा । देश र जनताको मुक्तिको सपना पूरा गर्नु राजनीतिमा होमिएको नै ३० वर्ष बितिसकेछ । जनयुद्धभित्र एउटा महान् राष्ट्र र समृद्ध जनताको सपना देखेर मैले रगत पोखेँ । मृत्युको मुखबाट प्रिय कमरेडहरू र मेरा आदरणीय डाक्टरहरूले ठूलो सङ्घर्ष गरेर मलाई फिर्ता ल्याउनुभयो ।

श्रवणक्षमता कमजोर भएको, कान र दृष्टि क्षमता ह्रास भएको घाइते जीवन सहिदका अधुरा सपना अनि माटोको आह्वान पूरा गर्न लडिरहनेछु । जब जीवनमा गुमाउन बाँकी नै केही छैन भने जेल र मृत्युले हामीलाई तर्साउन सक्दैन । हराउन सक्दैन ।

मलाई यतिबेला जनयुद्धमा सँगसँगै काँध जोडेर लडेका, सँगै गाएका कमरेडहरूको सम्झनाले सताइरहेछ । जो आज जहाँ भए पनि नजिक छौँ र सम्झनाको तीव्रता जेल बसाइमा घनीभूत हुँदो रहेछ । विगतका घटनाहरूमा हराउँदा पनि रोमाञ्चक पनि हुँदोरहेछ । म अपिल गर्छु हामी अझ गाढा सम्बन्धमा आउनुपर्छ ।

नेपाली काङ्ग्रेस, एमाले, राप्रपाभित्रका इमानदार, प्रजातन्त्रवादी, वामपन्थी र देशभक्तहरूको साथ पाएका छौँ । यसमा गर्व लागेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, पत्रकार जो मुटुमा माटोको सुगन्ध सजाएर एउटा उज्यालो भविष्यको पर्खाइमा हुनुहुन्छ, हामी यात्रामा सँगसँगै हुनुपर्छ ।

जबसम्म हामीले धर्ती आमाको छातीबाट अतिक्रमणकारी बुट हटाउने छैनौँ, घरभित्रै लुकेर घरको छानोमा आगो झोस्ने विदेशीका षड्यन्त्रकारी नोकरहरूलाई दण्डित गर्नेछैनौँ, तबसम्म हाम्रो सहयात्रा अनिवार्य छ । यसका लागि हामीले भन्यौँ– ‘क्रान्ति’ अर्थात् अधिकार सम्पन्न र समृद्ध नेपाली जनता र स्वाभिमान हाम्रो मुलुक ।

जहाँ हामी शिर ठाडो गरेर बाँच्न सक्नेछौँ । यसका लागि हाम्रो सहयात्रा जरुरी छ । तपाईंहरूको साथ जरुरी छ । हाम्रा कमजोरीहरूमा तपाईंहरूको तिखो खबरदारी पनि जरुरी छ । आउँदा दिनहरूमा बन्द पर्खालभित्रबाट प्रेषित हुने पत्रहरूमा भेट्ने सङ्कल्पसहित बिदा चाहन्छु ।
उही तपाईंहरूको
माइला लामा
२५ साउन, नख्खु कारागार

कमेन्ट गर्नुहोस्