सरकार ठीक बाटोमा छः मन्त्री भट्टराई

काठमाडौंः  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुक र जनताको दिशानिर्देशन अनुसार नै सरकार ठीक बाटोमा रहेको बताएका छन् ।

मन्त्री भट्टराईले सरकारले एक वर्षमा आवश्यक कानुन निर्माण गरेको र कतिपय कानुन निर्माण गर्दैरहेको चर्चा गर्दै भने, “बाटो गलत छैन । त्यसैले ढिलोचाँडो हामी गन्तव्यमा पुग्छौं ।”

उनले सरकारले बाटो बनाउँदै हिँड्नुपर्ने भएकाले कहिले गति ढिलोजस्तो लागे पनि सरकार ‘ट्रयाक’ भन्दा बाहिर नगएको स्पष्ट पारे । खुर्कोट स्वास्थ्य सेवा सहकारी संस्था लि. को छैठौं वार्षिक साधारण सभाको शनिबार राजधानीमा उद्घाटन गर्दै मन्त्री भट्टराईले मुलुकको विकासमा जनताको सचेतपूर्ण खवरदारी आवश्यक हुने बताए ।

उनले भने, “कतिपय अवस्थामा खवरदारी आवश्यकताभन्दा बढी देखिन्छ । यद्यपि, राष्ट्रियता र राष्ट्रिय एकतामा खलल पार्ने गतिविधिलाई छुट दिन सकिन्न ।”

भ्रमण वर्ष २०२० को सफलताले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले ऐतिहासिक गढी र किल्ला भएको सिन्धुली जिल्लामा पर्यटन विकासको सम्भावना प्रचुर रहेको बताए ।

उनले भने, “पर्यटन व्यवसायमा सिन्धुलीको ठूलो जनशक्तिको सहभागिता छ । तपाईहरुको अनुभव र योजना ल्याउनुस्, पर्यटनका समस्या समाधानका लागि काम गर्न म तयार छु ।” कार्यक्रममा सांसद गणेश पहाडीले पर्यटनको पूर्वाधार विकासको क्षेत्रमा सिन्धुलीका स्थानीय तहले काम गर्नुपर्ने बताए ।

मध्यपहाडी, मदनभण्डारी, बीपी राजमार्गजस्ता महत्वपूर्ण राजमार्ग रहेको सिन्धुलीले आर्थिक विकासमा चाँडैनै फड्को मार्नसक्ने उनले बताए ।

उनले सडक सञ्जालको केन्द्रविन्दुमा रहेको खुर्कोट अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए ।

खुर्कोट स्वास्थ्य सेवा सहकारी संस्था लि.का अध्यक्ष केशव देवकोटाको अध्यक्षतामा सम्पन्न सभाले भानुहरि भण्डारीको संयोजकत्वमा नीति निर्माण, विकास तथा प्रवद्र्धन स्वास्थ्य उपसमिति र चक्रबहादुर श्रेष्ठको संयोजकत्वमा सहकारी विकास तथा प्रवद्र्धन उपसमिति गठन गरेको छ । सो संस्थाले सिन्धुली जिल्लाको खुर्कोटमा सुनकोशी सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको छ ।

कमेन्ट गर्नुहोस्