Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सम्पत्ति हैन प्रेमिका भन्दै ४३ वर्ष अदालत धाएका सत्यनारायणलाई जित्याे मृत्युले, एउटा मार्मिक सम्बन्धकाे यस्ताे कथा

काठमाडौं : जमिनदार सत्यनारायण दास यादवलाई प्रेमले सडकमा पुर्‍यायो। मुस्लिम युवतीसँग प्रेम गरेको सजायबापत खोसिएको जमिन र सम्पत्ति फिर्ता लिन उनले ४३ वर्ष अड्डा अदालत धाए। अनेक हन्डर खाए। कति संघर्ष गर्दा पनि न्याय पाएनन्। अन्तत : न्याय बिना नै उनी संसारबाट बिदा भए। 

सिरहाको औरही गाउँपालिका ५ का जमिनदार यादवको ६७ वर्षको उमेरमा शनिबार बिहान ३ बजे संसारबाट बिदा भएका हुन्। 

मुस्लिम युवतीसँग प्रेम गरेकै कारण घरबाट निकालिएका सत्यनारायणलाई मृत्यु पछिपनि उनका दाजुभाइ हेर्न आएनन्। तर, गाउँका अन्य हिन्दु समुदाय उनलाई हेर्न घरमै पुगेका थिए। मुस्लिम परम्परा अनुसार उनको गाउँकै कबुर गाहमा शव दफन (अन्तिम संस्कार) गरिएको छ। 

सत्यनारायणले आफ्नो अंश सम्पति पाउन ०३३ सालमै अदालतमा मुद्दा दर्ता गरेका थिए। त्यतिबेला उनलाई अदालतले २५ कट्ठा जग्गा दिलायो। त्यो पनि गाउँको होइन टाढा रहेको डुमरी गाउँको। 

०३८ सालमा उनका दाजुभाइले अंशवण्डा गरे तर सत्यनारायणलाई जग्गा दिएन। बुबा हृदय नारायण दास यादवको नाममा रहेको पाँच विघा जग्गा दाजु धर्म नारायण यादवले पास गराए। 

त्यही जग्गामा अंश पाउन उनी जीवनभरी अदालत धाइरहे। तर, उनले न अंशको जग्गा पाए न न्याय। जग्गाको मुद्दा अहिले पनि उच्च अदालत जनकपुरको इजलास राजविराजमा चल्दै छ। मुस्लिम युवतीसँगै प्रेम विवाह गरेपछि उनको नाम फेरिएर अल्लाउद्दिन भयो। उनका चार छोराछोरी छन्, मोहम्मद एैनुल, मोहम्मद जैनुल, समिना र मोमिना। उनकी पत्नी रसुलियाको १० वर्ष अघि नै मृत्यु भइसेको छ। 

….

जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे।

धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे। ०३१-३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो। तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो।

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन्। जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे। यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो। सात खुन माफ थियो जमिनदारका लागि। कानुन उनीहरूकै मुठीमा थियो।

सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो। उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम गरे। र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए। घरबाट निकालिए। फुटपाथमा पुगे। जिन्दगीभर अभाव झेले। त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए। भर्खरै नबाज पढेर सकाएका थिए। गोजीमा राखेका थिए सेतो टोपी। खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए। सेतै फुलेको थियो कपाल। माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा।

पटक-पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम-इतिहास खोल्न चाहेनन्। आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो। सायद छोराले कुरा बुझे, बाहिरिए।

४०/४२ वर्षअघि एउटा प्रेमकथा यसरी अंकुराएको थियो

त्यो दिन असारको झरीले देहाती माटो लछप्पै भिजेको थियो। खेतमा नारिएका थिए दर्जनौं हल गोरु। कोही ब्याडमा धानका बीउ उखेलिरहेका रहे, कोही छुपुछुपु धान रोपिरहेका थिए। एउटा उत्सव चलिरहेको थियो खेतमा। त्यही उत्सवकै बीच एक जना सुकिलो अल्लारे युवा खेतको आलीमा उभिन आइपुगे। हिलाम्मे खेतमा धान रोपिरहेका रोपाहारहरूलाई एकतमासले हेरिरहेका थिए। एक जना सुन्दरीको हँसिलो मुहारमा पुगेर टक्क रोकिए उनका आँखा। ती युवा थिए, जमिनदार हृदयनारायणका कान्छा छोरा सत्यनारायण। उनलाई परिवारमा मायाले ‘भृगु’ भनेर बोलाउँथे।

विहारमा म्याट्रिक पढ्न बसेका उनी बिदामा गाउँ आउँदा टहलिन खेततिर निस्किएका थिए। सत्यनारायणले ती युवतीलाई धेरैबेर एकोहोरो हेरिरहे। उनी थिइन्, १६ वर्षीया रसुलिया खातुन। सत्यनारायणलाई अहिले पनि उनको रूप र बान्कीको ताजा स्मृति छ। भन्छन्, ‘उनी गोरी थिइन्। हँसिलो चेहरा, मिलेको जिउडाल। भुतुक्कै पार्ने मुस्कान। रसुलिया परीजस्तै थिइन्।’

प्रेमिकाका लागि धर्म बदलेर अल्लाउद्दिन बनेका सत्यनारायण भन्छन्, ‘रसुलिया के साथ सादी करके जिन्दगी गुजरदिया।’

रसुलिया गरिब मुस्लिम परिवारकी एक्ली छोरी। उनको दुई पुस्ताले सत्यनारायणको खेतमा काम गरिसकेको थियो। उनी पनि आमासँगै धान रोप्न आएकी थिइन्। उनी औरही गाउँकै सुन्दर मुस्लिम युवती थिइन्। उनको सुन्दरताबारे गाउँदेखि परपरसम्म चर्चा हुन्थ्यो। सत्यनारायण पनि हेरेको हेर्‍यै भए।

सिरहा, औरहीका सत्यनारायणका बाजे तिलकदास यादव कहलिएका जमिनदार। उनीसँग सयौँ बिघा खेत थियो। सात भाइ छोरा थिए उनका। जसमध्ये काइँला छोरा हृदयनारायण उनका बुबा थिए।

रसुलियालाई देखेपछि उनको जिन्दगी सदाका लागि बदलियो। रसुलिया खेतमा काम गर्न आएको बेला उनी खेतमै पुग्थे। नआएको दिन रसुलियाकै घर छेउछाउ जान्थे। उनलाई भेट्ने अनेक बहाना खोज्थे। बिनाकाम रसुलियाको घरको चक्कर काट्थे। ‘म त उसको दिवाना भइसकेको थिएँ,’ उनी सम्झन्छन्।

रसुलियाले सत्यनारायणको भाव बुझ्न थालिन्। गरिब परिवारमा जन्मिएकी रसुलियासँग जमिनदारको छोरालाई मनमा राख्ने हैसियत थिएन। सत्यनारायण भने उनको मायामा डुबिसकेका थिए। तर, डर थियो परिवारको र समाजको। एउटा कट्टर हिन्दू परिवार, अर्को कट्टर मुस्लिम परिवार। एउटा फुसको झुपडीबाट तारा गन्ने परिवार। अर्को भव्य बंगलाबाट जूनताराको स्वाद लिने परिवार !

स्कुल बिदामा आएका सत्यनारायण फर्केर पढ्न गएनन्। रसुलियाको मायामा डुब्न थाले। परीक्षा नै दिएनन्। ‘पढ्नै गइनँ, फेल भएँ नि,’ उनी विगत सम्झन्छन्।’ हरेक दिन लुकीलुकी रसुलियालाई भेट्नु, मनको भावना साटासाट गर्नु अब उनको दैनिकी हुन थाल्यो। भेट्न नपाएको दिन उनी पागलजस्तै हुन्थे।

उनीहरूको प्रेमबारे गाउँमा गाइँगुइँ हल्ला चल्न थाल्यो। कान्छो छोरा पढ्न नजानु, आफ्नै खेतमा काम गर्न आउने गरिब मुसलमानको छोरीसँग नाम जोडेर गाउँलेले कुरा काट्नु, बुबा हृदयनारायणको मनमा चिसो पस्न थाल्यो। सत्यनारायणसँग स्पष्टीकरण लिए, सम्झाए, फकाए। तर, भोलिपल्ट सत्यनारायण रसुलियाको घर पुगिहाल्थे। हैरान भएपछि उनका दाजु र बुबाले उनलाई पिट्न थाले। जन्जिरले बाँधेर राख्न थाले। ‘म रसुलियाका खातिर जतिसुकै यातना पनि भोग्न तयार थिएँ,’ उनी अतीतमा फर्किन्छन्, ‘उनीबिना बाँच्नै नसक्ने भइसकेको थिएँ। मैले बुबा र दाजुलाई सबथोक त्याग्न तयार छु तर रसुलियालाई छाड्न सक्दिनँ भनेँ।’

रसुलियाले सत्यनारायणको प्रेम स्वीकार गरिसकेकी थिइन्। लुकीलुकी, भागीभागी भेट्न थाले उनीहरू। परालको कुन्युपछाडि, लहरी घारी, खेतको ढिस्को उनीहरूका ‘डेटिङ स्पट’ थिए। मानिसहरूले झनै कुरा काट्न थाले। हृदयनारायणको घरमा तनावका तलाहरू थपिए। लोकलाजले पिरोल्न थाल्यो हृदयनारायणलाई। छोरालाई पटकपटक सम्झाउँथे। तर, प्रेमी सत्यनारायणको एउटै रटान थियो, एउटै धुन थियो- ‘म रसुलियालाई माया गर्छु। उसैसँग जीवन बिताउँछु।’

सत्यनारायणकी आमालाई भने यो सम्बन्धमा कुनै आपत्ति थिएन। छोराका लागि उनी समाजसँग जुध्न तयार थिइन् तर श्रीमान्का अघि निरीह। कुनै पनि हालतमा मुसलमान र गरिब रसुलियालाई बुहारी बनाउन राजी भएनन् हृदयनारायण। अन्तिममा उनले जुक्ति निकाले र छोरालाई भने, ‘त्यो केटीबिना तँ बाँच्नै सक्दैनस् भने, उसलाई ‘रखैल’ बनाएर राख्। तर, बिहेचाहिँ हामीले भनेको जात मिल्ने केटीसँग गर्।’

सत्यनारायणले बाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए। ‘आफ्नी मनकी रानीलाई म कसरी ‘रखैल’ बनाएर राख्न सक्थेँ ? ’ उनी भन्छन्, ‘त्यसपछि फेरि मलाई यातना दिन थालियो। तर, म गल्नेवाला थिइनँ।’

सत्यनारायणको परिवारले अन्तिम अस्त्र प्रहार गर्ने योजना बनायो। खान्दानका सबै सदस्यलाई भेला गरेर उनलाई प्रश्न गरियो- ‘ल भन् भृगु ! जमिनदारको जीवन, दौलत, बुबाआमा, दाजुभाइ, सानको जिन्दगी रोज्ने कि त्यो मुसलमान गरिब र अनपढ केटी ? ’

सत्यनारायण जुरुक्क उठे। अन्तिमपटक सबैलाई ढोगे। र, चट्टानजस्तो दृढतासहित भने, ‘म रसुलियालाई रोज्छु।’

अन्नपूर्ण पाेष्टबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: