धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि पद छोडिदिन्छुः प्रधानमन्त्री ओली

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार लगलग काप्यो भनेर प्रतिगामी शक्तिहरुले भनिरहेको सुन्छु । तर, सरकार काँपेको छैन ।’

अहिलेको संविधान, लोकतन्त्र, संघीयता नचाहनेहरुले सरकार काँपेको हल्ला चलाएको प्रधानमन्त्रीले भने । “पद नजाने कोही छैन । राजतन्त्रदेखि जनप्रतिनिधिहरुको पनि पद जान्छ”, प्रधानमन्त्री ओलीले भने, “मेरो पनि पद जान्छ । धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि मलाई बस्नु छैन ।”

केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले सुम्मिएको जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, “सरकार भाग्छ भन्ने कुरा दिवा स्वप्न हो । यस्तो दिवा स्वप्न नदेखे हुन्छ ।”

प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुनेसमेत बताए ।

उनले अर्को चुनावसम्म आफैले नेतृत्व गर्ने बताए । प्रधानमन्त्री ओलीले भन, ‘प्रधानमन्त्री पद जाने भयो भनेर लगलग कामेको छ भनेको सुनेको छु । त्यस्ता तत्त्वहरु नहौसिए हुने हो । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । राजा महाराजा सबैको पद गएको देखेको छु, अर्को निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्छु ।’

कमेन्ट गर्नुहोस्