रवि समर्थकको आन्दोलनमा राजावादीहरु, हिंसात्मक बनाउने षडयन्त्र रचिँदै

चितवन । रवि लामिछानेको रिहाईका लागि चितवनमा शुरु भएको प्रदर्शनमा उल्लेख्य संख्यामा राजावादीहरु ओइरिएका छन् ।

चितवनबाट हाम्रा प्रतिनिधिले जनाए अनुसार, शुक्रबार र शनिबारको आन्दोलनमा राजा समर्थकहरु खुलेरै आन्दोलनमा सहभागी देखिएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका र स्वतन्त्ररुपमा समेत राजा आउ देश बचाउ भन्दै हिंडनेहरु अहिले रविलाई रिहाई गर भन्ने नारा लगाउँदै हिँडेका हुन ।

चितवन राप्रपा नेता तथा ठेकेदार बिक्रम पाण्डेको जिल्ला भएको र वामपन्थी सरकारका कारण बिक्रम पाण्डेको ठेक्कापट्टाको काम संकटमा परेपछि पाण्डेले समेत आन्दोलनमा उल्लेख्य सहयोग गरेको श्रोतले बतायो ।

पाण्डेले लिएका कतिपय ठेक्का गुणस्तरीय नभएपछि उनीमाथि छानबीन भएको थियो ।

रवि लामिछानेका समर्थकहरुले भने आन्दोलन शान्तिपूर्णरुपमा सञ्चालन गर्ने बताउँदै आएका छन् । तर यो मौका छोपेर केही तत्वहरुले भने हिंसा फैलाउने, अराजकता मच्चाउने र सकेसम्म उत्तेजित बनाएर आन्दोलनमा बल प्रयोग गर्न प्रहरीलाई उक्साउने वातावरण तयार पार्ने सूचना प्रहरीले प्राप्त गरेको छ ।

चितवन प्रहरीले भने अश्रु ग्याँस र लाठी प्रहार गरेपनि अहिलेसम्म गोली प्रहार गरेको छैन । तर प्रहरीलाई निकै उत्तेजित बनाएर कञ्चनपुरमा निर्मला हत्या प्रकरणका बेला चलेको आन्दोलन जस्तै बनाउने र हत्या हिंसाको आतंक मच्चाउने कोशिस राजावादीहरुले गरिरहेको श्रोतले बतायो ।

प्रहरीले राजावादीलगायतका शक्तिहरुले सरकारविरुद्ध आन्दोलनलाई राजनीतिकरण गर्ने सम्भावना देखेर अहिले उच्च सतर्कता अपनाएको छ ।

राजावादीहरुले आन्दोलनलाई उपयोग गर्न ज्ञानेन्द्र शाहीलगायतका व्यक्तिहरुलाई चितवन परिचालन गरिएको बताईन्छ । योसँगै काठमाडौं, धादिङ, हेटौडादेखि अन्य स्थानबाट समेत राजा समर्थकहरु चितवन पुगेको बताइन्छ ।

नेपाली कांग्रेसका कतिपय समर्थकहरु आन्दोलनमा देखिएपनि नीतिगतरुपमा भने कांग्रेसले आन्दोलनमा सहभागिता जनाउने किसिमले गतिविधि नगरेको तर राजावादीहरु भने जसरी हुन्छ आन्दोलन धमिल्याउन खोजिरहेको बताइन्छ ।

शुक्रबारको आन्दोलनमा पैसा उठाउने देखि चितवन बन्दको पर्चा छरिएपछि रवि लामिछाने समर्थकहरुले भने त्यसको बिरोध गरेका थिए ।

अहिले आन्दोलनमा घुसपैठ हुन नदिन लामिछाने समर्थकहरुले समेत सतर्कता अपनाएपनि संगठित प्रकृतिको आन्दोलन नहुँदा कतिखेर के हुने हो भन्ने अवस्था सिर्जना भएको छ । यद्यपी प्रहरीले भने आम जनताका शान्ति सुव्यवस्था बनाउन र संयमित हुन अपील गरेको छ ।

कमेन्ट गर्नुहोस्