क्रिस गेल; जसले बनाइसकेका छन् यस्ता यस्ता कीर्तिमान

काठमाडौँ । युनिभर्स बोस, गेल फोर्स या गेल स्टोरम जस्ता थुप्रै उपनामले चिनिने क्रिस्टोफर हेनरी गेल अर्थात क्रिस गेलले भर्खरमात्रै विश्व क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

विश्व क्रिकेटमा निकै राम्रो धाक भएका गेलले २००७ देखि २०१० सम्म वेस्टइन्डिजको टेस्ट टीमको कप्तानको भूमिका निर्वाह गरिसकेका छन् । बीस वर्ष विश्व क्रिकेटमा बिताएका गेलको नाममा थुप्रै रेकर्ड छन् ।

भारतविरुद्ध आफ्नो एकदिवसीय करिअरकै अन्तिम खेल खेल्ने बेलामा गेलले ४१ बलमा ७२ रनको तुफानी पारी खेले । उनले यस दौरान ८ चौका र ५ छक्का प्रहार गरे ।

गेलले भारतसँग खेलेको आफ्नो करिअरको अन्तिम खेल उनको समग्र एकदिवसीय करिअरको ३०१ औं खेल हो । उनले २९८ खेल वेस्टइन्डिजको तर्फबाट खेलेका छन् भने ३ खेल विश्व एकादशको तर्फबाट खेलेका छन् ।

उनले यस खेलसँगै सर्वाधिक एकदिवसीय खेल्ने वेस्टइन्डिजेली खेलाडीको किर्तिमान बनाएका छन् । यस अघि यो रेकर्ड ब्रायन लाराको नाममा थियो जसले २९९ एकदिवसीय खेलेका छन् ।

यस सूचिको शीर्षमा भारतका सचिन तेन्दुलकर रहेका छन् । उनले ४६३ एकदिवसीय खेलेका छन् ।

त्यस्तै गेल वेस्टइन्डिजको तर्फबाट सर्वाधिक एकदिवसीय शतक लगाउने खेलाडी पनि बनेका छन् । उनले २५ शतक लगाए भने दोस्रो स्थानमा १९ शतक लगाएर लारा रहेका छन् ।

उनी १०४८० रन बनाएर सर्वाधिक एकदिवसीय रन बनाउने वेस्टइन्डिजेली खेलाडी बनेका छन् । उनले ब्रायन लाराको १०३४८ रनको रेकर्ड आफ्नो करिअरको अन्तिम शृंखलामा ध्वस्त पारे ।

त्यस्तै गेल एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने वेस्टइन्डिजका एक मात्र र विश्वका पांच खेलाडीमा पर्दछन् । उनले २४ फेब्रुअरी २०१५ मा क्यानबेरामा जिबाब्वेविरुद्ध २१५ रन बनाएका थिए ।

उनी विश्व क्रिकेटका सबै फर्म्याटमा गरेर सबैभन्दा बढी छक्का प्रहार गर्न सक्ने खेलाडी पनि बनेका छन् । गेलले आफ्नो करिअरभरि अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटमा गरेर ५३४ छक्का प्रहार गररेका छन् ।
यस सूचिको दोस्रो स्थानमा ४७६ छाक्काका साथ पाकिस्तानका साहिद आफ्रीदी रहेका छन् ।

यसका अतिरिक्त अफ-स्पिन बलिङ गर्ने गेलले एकदिवसीय खेलमा १६७ विकेट लिएका छन् । यस मामिलामा उनी वेस्टइन्डिजमैं पाँचौं स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्