धकेलिए माधव नेपाल, झलनाथ अब तेस्रो बरियतामा

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो बरियतामा बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको हो । यो निर्णयसँगै बरियता घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन् ।

२०७५ जेठ ३ गते तत्कालिन दुई पार्टी (एमाले र माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा गर्दा अध्यक्षद्वय केपी शर्मा ओली र ‘प्रचण्ड’को जोडबलमा नेता नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो ।

त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए । चीन भ्रमणबाट फर्कैलगत्तै नेता खनालले उक्त निर्णय प्रति चर्को असन्तुष्टि जनाएका थिए । साथै उनले उक्त निर्णय गलत भएको भन्दै त्यसलाई पुर्नविचार गर्न त्यतिबेला सचिवालय बैठकमा माग समेत गरेका थिए ।

त्यतिबेला उनको मागबारे अध्यक्षद्वयलगायत अन्य नेताहरु मौन बसे । तर, पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेता खनालको माग पुरा भएको छ ।

तत्कालिन एमालेमा अध्यक्ष ओलीपछि दोस्रो बरियतामा नेता खनाल थिए । तर, एकीकृत पार्टी बनेपछि उनी चौथो बरियतामा पुगे । नेकपामा अध्यक्षद्वय ओली–प्रचण्ड पछिको तेस्रो बरियतामा नेता नेपाललाई ल्याइयो । जबकि नेता नेपाल तत्कालिन एमालेमा खनालपछिको तेस्रो बरियतामा थिए ।

शुक्रबार बसेको सचिवालय बैठकमा अचानक यो बिषयले प्रवेश पायो । पाँचौ बरियतामा रहेका नेता बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने प्रस्तावसँगै नेता खनालले पनि आफूले तेस्रो बरियतामा पाउनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, यतिबेला उनको यो प्रस्तावमा अध्यक्षद्वयसहित सचिवालय अघिकाशं ९नेता नेपाल बाहेकका० नेताहरुले सहमति जनाएपनि निर्णय भने हुन सकेको थिएन ।

कमेन्ट गर्नुहोस्