पानी नहुँदा दृष्टिविहीन आवासीय विद्यालयको शौचालयमा ताला

काठमाडौं । सिँजा गाउँपालिकाको नराकोटस्थित भैरव माध्यमिक विद्यालयको शौचालयमा ताला लगाइएको छ । यो विद्यालयमा नौजना दृष्टिविहीन विद्यार्थी पनि पढ्छन् । पानीको अभावमा शौचालयमा ताला लगाइएपछि उनीहरू दिसापिसाब गर्न जोखिम मोलेर जंगलतिर जान बाध्य छन् ।

शौचालय प्रयोगमा नआउँदा खानपिन गर्दा पनि सोच्नुपरेको कक्षा १० का विद्यार्थी धर्मलाल प्याकुरेलले गुनासो गरे । ‘पानी पिउँदा सोच्नुपर्छ । कसरी जंगलतिर जाने भन्ने समस्या हुन्छ,’ प्याकुरेलले भने, ‘कतिवेला खानपिन नै नगरौँ जस्तो लाग्छ । नखाई पनि भएन । दिसापिसाब लागेपछि डराउँदै जंगलतिर जान्छौँ ।’

प्लान इन्टरनेसनल नेपालको सहयोगमा यो विद्यालयमा किर्डाक नेपालले दृष्टिविहीन विद्यार्थीका लागि अपांगमैत्री र भूकम्प प्रतिरोधी आवासीय भवन बनाएको छ । आवासीय भवनमा ११ कोठा छन् । एक करोड १९ लाख ६ हजार ७३ रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा अपांगमन्त्री शौचालयको व्यवस्था छ ।तर, पानी नहुँदा शौचालयमा ताला लगाउनुपरेको विशेष शिक्षक दत्त रोकायाले बताए । ‘पानी अभाव छ । त्यसैले अहिले शौचालयमा ताला लगाएका छौँ,’ रोकायाले भने, ‘दिसापिसाब गर्न दृष्टिविहीन विद्यार्थी जंगलतिर जाने गर्छन् ।’

विद्यालयमा खानेपानीका सबै संरचना पनि बनाइएको छ । तर, नजिकैका गाउँका बासिन्दाले पाइप काट्दा समस्या भएको दृष्टिविहीन शिक्षक शान्ति रोकायाले बताइन् । ‘अहिले खानेपानी र सरसफाइका लागि भिरालो गोरेटोमा दुई घन्टा हिँड्नुपर्छ,’ शिक्षक रोकायाले भनिन्, ‘मुस्किलले बोकेर गुजारा चलाइरहेका छौँ ।’ पानीको अभावमा विद्यालयमा सरसफाइ पनि हुन नसकेको उनको भनाइ छ । नुहाइधुवाइ गर्न खोला तथा नदीको किनारतिर जानुपरेको उनले सुनाइन् ।

त्यस्तै, आवासीय विद्यालयको नयाँ भवन निर्माणमा प्राविधिक त्रुटि हुँदा जस्तापाताबाट पानी चुहिने गरेको शिक्षक रोकायाले बताइन् । ‘पानी पर्दा चुहिन्छ, राति त समस्या हुन्छ,’ उनले भनिन् । खानेपानी व्यवस्थापनका विषयमा विद्यालय प्रशासन, वडा कार्यालय र गाउँपालिकासँग गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यार्थीले बताएका छन् ।

स्थानीय बासिन्दा इमानदार नहुँदा समस्याः गाउँपालिका
सिँजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विद्यालयमा खानेपानी अभाव भएको बताए । यसले दृष्टिविहीन विद्यार्थीलाई समस्या भएको उनको भनाइ छ । स्थानीय बासिन्दा इमानदार नहुँदा यस्तो समस्या भएको उनको भनाइ छ । ‘खानेपानीको पाइप काट्छन् अनि समस्या भएको हो,’ न्यौपानेले भने । विद्यालयमा खानेपानीको समस्या समाधान गर्न गाउँपालिकाले पहल गर्ने उनले बताए । स्थानीय साझेदार संघसंस्थासँग समन्वय गरेर यसको दिगो समाधान गर्ने उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्